टिपताला भञ्ज्याङ र किमाथाङ्का ‘नाका खुल्यो, विश्वास खुलेन’

Image description

माघ २०८२ - माइत पुगेका चेलीले घरको आँगन टेक्न पाउदैनन् । कोसेली आफुहरुको लागि बनाइएको आश्रयस्थलमा आफन्त बोलाएर थमाउँछन् । आफन्तले ल्याइदिएको खाना पनि त्यही बसेर खान्छन् र फर्कन्छन् । घुम्नका लागि रिउ प्रशासनले एक पटक गाडीमा राखेर घुमाउने गरेका छन् ।

फक्ताङलुङ गाउँपालिका ७ का वडा सदस्य फुपुल्हामु शेर्पा, अर्का वडा सदस्य वाड्ग्या शेर्पा सहितको टोलि गएको कार्तिक ४ गते टिपताला भन्ज्याङ हुँदै चीनको डिङ्जे काउण्टीस्थित रिउ बजार पुगे । उनीहरुसँगै जोङगी शेर्पा, सोनाम शेर्पा, दावाफुटी शेर्पा र छवेसाड शेर्पा पनि थिए । छिमेकी देश चीनको तिब्बतस्थित रिउ गएका छ जनाको टोलि १२ गते फर्कने तयारीमा थिए । घर फर्कदा ल्याउनुपर्ने कोसेली देखि चीनबाट ल्याउने ब्यापारिक सामान तयारी अबस्थामा राखे । १२ गतेका दिन फक्ताङलुङ गाउँपालिका ७ याङ्माका फुटिक शेर्पा, लमु शेर्पा, फुमु शेर्पा, खान्जे शेर्पा लगायत १९ जनाको समूह रिउतर्फ जाने तयारीमा थियो । फुटिक, लमु, फुमु र खान्जेको माइतीघर रिउनै भएकाले सेलरोटी लगायतका कोसेली बोकेर उनीहरु माइती हिडेका थिए । याङ्माबाट पुरै एकदिन लाग्ने ओलाङचुङगोलाको गाउँमा बसे । तर, बिडम्बना त्यही रात ओलाङचुङगोलादेखि चीनको रिउ सम्म भारी हिमपात भयो ।

माइती जाने र घर फर्कनेको सडक अबरुद्ध बन्यो । माइती हिडेकाहरु बाटो खुल्ने प्रतिक्षामा ओलाङचुङगोलामै बसे भने फर्कनेहरु रिउमै रोकिए ।

रिउमै रोकिएकाहरुका आफन्त गाउँमा प्रशस्तै थिए । आफन्तकोमा गएर दिन बिताउँदा उनीहरुका लागि केही सहज हुन्थ्यो । तर चिनियाँ प्रशासनले नेपालीका लागि त्यस्तो स्वतन्त्रता दिएको छैन । वडा सदस्य फुपु ल्हामुका अनुसार नेपालीका लागि छुट्टै आवासस्थल बनाइदिएको छ । ओड्ने, ओछ्याउने लत्ताकपडा राखिदिएको छ । खाना भने आफन्त वा होटलबाट मगाएर खानुपर्छ । एक छाक खानाको १५ युआन पर्छ । “हामीले पहिला सुरु सुरुमा आफन्तले ल्याइदिएको खायौं, बसाई लामो भएपछि होटलबाट झिकाएर खायौ,” फुपु ल्हामुले भनिन्, “दिन बिताउन र समय कटाउनका लागि भने गाउँका मानिसलाई आफ्नो बासस्थानमै बोलाएर गफ गरेर बसे ।”

चीनमा व्यापार गर्न पुगेका नेपालीहरु । तस्बिर: आनन्द गौतम

तिसौं बर्षदेखि तिब्बतको रिउ र घुम्तीमा बजारबाट ब्यापारीक कारोबार गर्दै आएका फक्ताङलुङ ७ का दावा शेर्पा कोरोना संक्रमण पश्चात नाका खुलेपछि सातौं पटक रिउ बजार पुगेर फर्किएका छन् । ओलाङचुङगोलाबाट बिहान सबेरै उठेर हिड्ने उनी मौवाटारमा पुगेर खाना खान्छन् । त्यहाँबाट सुस्त गतिमा अगाडि बढ्ने उनी दिउसो तीन चार बजेसम्ममा द्विदेशीय सिमाना टिपताला भन्ज्याङ पुग्छन् । त्यहाँबाट भने चिनियाँ गाडीमा रिउ बजार पुग्छन् । डिङ्जे काउण्टीका सरकारी अधिकारी देखि अधिकांशजसो कर्मचारी र स्थानीयसँग चिनजान भएकाले कहिले उनीहरुकै गाडीमा रिउसम्म जान्छन् । नेपालबाट धेरै सामान लगेको समयमा भनें रिउ बजारबाट रिजर्भ गरेर गाडी झिकाउँछन् । रिउ बजार पुगीसकेपछि भनें उनले पनि त्यही आवासगृहमा बस्नु पर्छ । प्रशस्तै होटल रहेको रिउ बजारमा आफुले छानेको होटल वा आफन्तकोमा गएर बस्छु भन्न पाउँदैनन् । आवासगृहमा जान्छन्, साथीभाइले ल्याइदिए उनीहरुले ल्याएको खाना खान्छन् नभए होटलमा मगाएर खान्छन् । “म सातौं पटक पुगेर फर्कदापनि आवास गृहमै बसेको छु”, दावाले भने । टिपताला भन्ज्याङबाट ३५ किलामिटर दुरीमा भएकाले आधा घण्टा देखि ४५ मिनेट सम्ममा गाडीमा पुगिन्छ ।

ओलाङचुङगोला र याङ्माका बासिन्दा मात्रै नभएर मंसिर अन्तिम साता सदरमुकाम फुङलिङका चार जना युवक पनि रिउ पुगेर फर्किए । सागर लाम्गादेको नेतृत्वमा जेनजी युवाको समूह रिउ गएका हुन् । जेनजी आन्दोलनपछि गोपाल गुरगाई संयोजक रहेको जेनजी समुहले रिउसम्मको पहुँच समग्र जिल्लावासीका लागि हुनुपर्छ भन्ने माग राख्दै आएका थिए । प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइले सीमा परिचयपत्र उपलब्ध गराएपछि उनीहरु सदरमुकाम फुङलिङबाट हिडेको पाँचौं दिनमा रिउ पुगेर फर्किएका हुन् ।

रिउ जाने सिमावर्ती क्षेत्रका वासिन्दा हुन् या त जिल्लाको अन्यत्र स्थानका सबैका लागि एउटै प्रकृया छ । फक्ताङलुङ ७ का वडाध्यक्ष छेतेन शेर्पा लामाका अनुसार आफु जाने भएपछि त्यसको जानकारी वडा नं ७ ओलाङचुङगोलाको वडा कार्यलयलाई एक साता अगाडि गराउनुपर्छ । वडा कार्यलयले फलानो परिचय भएका, यति जना ब्यक्ति, यो दिन, तपाईको देशमा आउदैछन् भनेर डिङ्जे काउण्टीको प्रशासनलाई वीच्याट मार्फत जानकारी गराइदिन्छन् । जानकारी गराइएको व्यक्तिगत विवरणमा सीमा परिचय पत्रको स्क्यान अनिवार्य छ ।

ती विवरणका आधारमा चिनियाँहरुले अनुमति दिएपछि वडा कार्यालयले जान सक्नु हुन्छ भनेर सम्वन्धित ब्यक्तिलाई खबर गरिदिन्छ । त्यसपछि बल्ल जाने बाटो खुल्छ । “उनीहरु (डिङ्जे प्रशासनका कर्मचारी) तल रिउ बजारमा बस्छन् । तलैबाट टिपताला भन्ज्याङ क्षेत्रलाई सीसीटीभी क्यामराले हेरिरहेका हुन्छन्,” छेतेनले भने, “यताबाट खबर गरेपछि उनीहरु सिमानामा आएर गेट खोलिदिन्छन् । अध्यागमनको कर्मचारी पनि आउँछन् । त्यसका लागि पूर्व जानकारी गराउनु अनिवार्य छ ।” अगाडी नै सहमति र बुझबुझारथ भए जानेहरुले दुख नपाउने उनको दावी छ ।

चीनमा कोरोना देखिनासाथ बन्द भएको नाका २०८० मंसिर तेश्रो सातादेखि खुलेको हो ।

टिपताला स्थित नेपाल-चीन सीमास्तम्भ । तस्बिर: आनन्द गौतम

वडाध्यक्ष छेतेन आफै पनि रिउ गएका छन् । आमाको माइती गाउँ उतै भएकाले गतवर्ष आमालाई आफन्तसँग भेट गराउन उनी रिउ पुगेर फर्किएका हुन् । कोरोना संक्रमणपछि बन्द भएको नाका झण्डै चार वर्षमा खुलेको हो । नाका खुलाउनका लागि नेपाली पक्षले पटक पटक आग्रह गरेको थियो । देशका हरेक नेता चीन भ्रमणमा जाँदा स्थानीयले नाका खुलाइदिने बिषयमा पहल गर्न आग्रह गर्ने गरेका थिए । लामो अनुनय विनयपछि नाका खुलेपनि विश्वास भने अझै खुलेको छैन । नेपालबाट गएकाहरुले कोरोना अघिजस्तो चिनियाँ बजारमा निर्वाध हिडडुल गर्न पाएका छैनन् । दावाले भने, “रिउ बजार कस्तो भएछ हेरौन भन्यो भने उनीहरुकै गाडिमा राखेर एक पटक घुमाइदिन्छन् । गाडी बाटै हेर्ने हो, बाहिर हिडडुल गर्न भने पाइएको छैन ।” ब्यापारको क्रममा पहिले रिउ बजारका हरेकजसो घरमा बसेका दावा कोरोना संक्रमणको नाका खुलेपछि गाडीमा बसेर मात्रै बजार हेर्न पाएको बताउँछन् ।

किन विश्वास भएन चिनियालाई ?

यसको प्रष्ट जवाफ उनीहरुले पनि दिएका छैनन् । “त्यहाँ नियम फेरिइरहन्छ । हाम्रो नियममा बस्नुपर्छ भन्छन्,” वडाध्यक्ष छेतेनले भने, “अर्काको देश हो उनीहरुले बनाएको नियम त मान्नै पर्यो नी ।”

रिउ बजारमा मेला महोत्सव लाग्दा नेपालीहरु प्रसस्तै गएर बस्न, घुमघाम गर्न पाउँथे । पछिल्ला वर्षमा सिमानामै चेकजाँच गर्ने, फिङ्गर प्रिन्ट लिने, निश्चित ठाउँमा मात्रै बस्न दिने जस्ता कार्य हुने गरेको ओलाङचुङगोलाबाट गएर फर्किएकाहरु बताउँछन् । ताप्लेजुङ मात्रै नभएर संखुवासभाको भोटखोलाबाट जाने नेपालीलाई पनि यस्तै कडाइ गरेका छन् । “धेरै मानिस आए भने खुल्छ होला त्यहाँको प्रशासनका मान्छे त्यसै भन्छन्,” दावाले भने, “घुम्न नपाएर एकै ठाउँमा बसिरहनु पर्दा अलिक गाह्रो महशुस हुने रहेछ ।”

सात दिनका लागि गएका आफुहरु हिउँका कारण १२ दिन बस्नुपर्दा निकै नै कठिन भएको अनुभव गोलाका वडासदस्य फुपु ल्हामुले सुनाइन् ।

ताप्लेजुङमा रहेको नेपाल चीन सिमाना टिपताला भन्ज्याङ ५१ सय मिटर उचाइमा छ । मौसम प्रणालीमा परिवर्तन हुनासाथ हिउँद याममा हिउँ परिरहने गर्छ । बर्खायाममा पनि बर्षा भइरहने गर्छ । वडा कार्यालयका कर्मचारी तेन्जिङ शेर्पाका अनुसार यसको जानकारी ओलाङचुङगोलाका बासिन्दालाई पाउन मुस्किल हुन्छ ।

“बोर्डरमा टेलिफोन लाग्दैन, तल बस्तिबाट पनि देखिदैन,” तेन्जिङले भने, “बोर्डरमा हिउँ परेको छ की छैन, बाटो कस्तो छ भनेर पनि चीनको रिउ प्रशासनलाई सोध्नुपर्छ र समस्या छ ।”

नाका खुलेर रिउ पुगेका भएपनि नेपालका बुहारीले माइतीको आँगन टेक्न पाउँदैनन् । नेपालीका लागि बनाइएको आवासगृहमा आफन्त बोलाउने, आफुले लगेको कोसेली त्यही दिने, उनीहरुले ल्याएको खाना त्यही बसेर खाने र फर्कने गर्नुपर्ने बाध्यतामा नेपाली रहेका छन् । नेपाल तर्फ भने अहिलेसम्म तेस्तो कुनै नीति नलिएको वडाध्यक्ष छेतेनको दावी छ । कोशी प्रदेशका ताप्लेजुङ र सङ्खुवासभा जिल्लासंग सीमा जोडिएका नाकामा उस्तै नीति, नियम रहेको रिउका अधिकारीले बताउने गरेका छन् ।

author

Ananda Gautam

CESIF Fellow