लुम्बिनी बौद्ध विश्वविद्यालयमा चीनको चासो

जेष्ठ २०८२

रुपन्देही - सन् १९९८ मा १६ राष्ट्रका प्रतिनिधिको सहभागितामा विश्व बौद्ध सम्मेलन लुम्बिनीमा सम्पन्न भएको थियो । सो सम्मेलनबाट विश्वविद्यालय स्थापना गरिएको थियो । शान्तिका अग्रदूत गौतम बुद्ध जन्मेको भूमिमा आध्यात्मिक वातावरणमा बसेर उच्च तहको बौद्ध शिक्षा अध्ययन हुनुपर्छ भन्दै उच्च तहको बौद्ध विश्वविद्यालय आवश्यक छ भन्ने निष्कर्ष सम्मेलनको थियो ।

तर, स्थापनाको झन्डै एक दशकसम्म यो विश्वविद्यालय गुमनामजस्तै रह्यो । ०६१ सालमा स्थापना भएको बौद्ध विश्वविद्यालयमा ०६७ सालबाट मात्रै शैक्षिक कार्यक्रम शुरु भएको थियो । सुरुवातमा  पिएचडी कार्यक्रम संचालन भएको थियो ।

लुम्बिनीमा बौद्ध विश्वविद्यालय स्थापना गर्ने भनिएता पनि शुरुमा केन्द्रीय कार्यालय काठमाडौंमा राखियो । लुम्बिनीमा सम्पर्क कार्यालयका रूपमा एउटा भवनमा सीमित गरियो । साढे दुई बिघा जग्गा छुट्याइएको भए पनि अन्य कामले गति लिन सकेन । एक दशकसम्म काठमाडौंमा रहेको केन्द्रीय कार्यालय लुम्बिनीमा ०७३ सालमा मात्रै सारियो । ०७० सालबाट मात्रै स्नातकोत्तर तहको अध्ययनसहित लुम्बिनीमा शैक्षिक कार्यक्रम शुरु भएको हो । ०७० साल यताका वर्षमा विश्वविद्यालयको गति बढ्दै गएको छ ।

अहिले कस्तो छ विश्वविद्यालय 

अहिले तीनवटा संकाय सञ्चालनमा छन् । ती बौद्ध अध्ययन संकाय, मानविकी तथा सामाजिक शास्त्र संकाय र स्कुल अफ डेभलपमेन्ट एन्ड एप्लाइड साइन्स रहेका छन् । दुईवटा आंगिक क्याम्पस छन् । केन्द्रीय क्याम्पसमा चालू शैक्षिक कार्यक्रममा स्नातकोत्तर तहमा बौद्ध अध्ययन, पुरातात्वशास्त्र र सङ्ग्रहालय विज्ञान सञ्चालनमा छन् । त्यस्तै स्नातक तहमा भोट बौद्ध अध्ययन, ट्राभल एन्ड टुरिजम म्यानेजमेन्ट र बिए आरडीको अध्ययन हुँदै आएको छ ।

बौद्ध विश्वविद्यालयको बुटवलमा सिटी क्याम्पस सञ्चालनमा आएको छ । यहाँ बिए, एलएलबी र ट्राभल एन्ड टुरिजम शैक्षिक कार्यक्रम सञ्चालनमा छन् । बुद्धसँग सम्बन्धित देवदहमा स्कुल अफ डेभलपमेन्ट एन्ड एप्लाइड साइन्स अन्तर्गत स्नातकोत्तर तहमा डेभलपमेन्ट स्डडिज र एग्रोफोरेस्ट्री कार्यक्रम सञ्चालनमा रहेको छ ।

विश्वविद्यालयले आठ कलेजलाई सम्बन्धन दिएको छ । तीनवटा सहकार्यमा सञ्चालित क्याम्पस रहेका छन् भने हाल करिब एक हजार ५०० विद्यार्थी अध्ययनरत छन् । यीमध्ये ३२ जना विदेशी विद्यार्थी (चीन, श्रीलंका, बर्माका विद्यार्थी) छन् । यस विश्वविद्यालयबाट ३५ जनाले बौद्ध दर्शनमा पिएचडी गरिसकेका छन् ।

विश्वविद्यालयका रजिस्ट्रार डा. तिलक आचार्यका अनुसार बौद्ध विश्वविद्यालयमा बौद्ध अध्ययन संकायअन्तर्गत विद्यावारिधि कार्यक्रम चालू रहेको छ भने शैक्षिक कार्यक्रमबाहेक अनुसन्धान केन्द्रबाट अनुसन्धानका कार्यक्रम भइरहेको छ । सबै कार्यक्रम सेमेस्टर प्रणालीमा सञ्चालित छन् ।

विश्वविद्यालयमा ६ जना मात्रै स्थायी शिक्षक छन् । शैक्षिक कार्यक्रम सञ्चालनका लागि १९ जना करारका शिक्षक रहेका छन् । विश्वविद्यालयले गति बढाउँदै लगे पनि यहाँ पर्याप्त शैक्षिक जनशक्तिको व्यवस्थापन हुन सकेको छैन । सरकारबाट दरबन्दी व्यवस्थापन हुन नसकेको र सीमित आर्थिक स्रोत–साधनबाट भए पनि गति बढाउँदै लगिएको विश्वविद्यालयका पदाधिकारी बताउँछन् । दरबन्दी व्यवस्थापनका लागि विश्वविद्यालय अनुदान आयोगमा र मन्त्रालयमा प्रस्ताव पेस गरिएको र हाल विश्वविद्यालय सभाले २१९ जनाको दरबन्दी स्वीकृत गरेको छ ।

कति छ विश्वविद्यालयको जग्गा 

साढे २ बिघा जमिनबाट शुरु भएको विश्वविद्यालयको अहिले ११३ बिघा जमिन छ । अहिले लुम्बिनीसहित विभिन्न स्थानमा विश्वविद्यालयको ११३ बिघा जमिन रहेको छ । विश्वविद्यालयको देवदहमा ९२ बिघा जमिन रहेको छ । बुटवल–१२, नयाँगाउँमा करिब ६ बिघा जमिन र लुम्बिनीमा करिब १५ बिघा जमिन रहेको छ ।

भर्खरै केन्द्रीय क्याम्पस, सिटी क्याम्पस, केन्द्रीय कार्यालय, केन्द्रीय पुस्तकालय, पदाधिकारी आवास, शिक्षक आवास, छात्रछात्रावास निर्माणका काम सम्पन्न भएका छन् । पदाधिकारीका लागि आवास गृहदेखि १६ जनाका लागि शिक्षक आवास भवन बनेको छ भने करिब सयजना विद्यार्थीका लागि छात्रावास बनेको छ । त्यस्तै विश्वविद्यालयलाई अझ व्यवस्थित गर्ने क्रममा अनुसन्धान केन्द्र लुम्बिनी र प्रशासनिक भवन देवदहमा निर्माण कार्य जारी रहेको छ ।

चीनले के केमा सहयोग गर्दै आएको छ 

लुम्बिनी विश्वविद्यालयको विकासमा नेपाल सरकारले मात्रै होइन विभिन्न देशहरुले पनि सहयोग गर्दै आइरहेका छन् । ४ स्थानमा जग्गा रहेको विश्वविद्यालय अहिले विभिन्न आयोजनाहरु संचालन गर्ने तयारीमा छ। लुम्बिनी विश्वविद्यालयको विकासमा अन्य मुलुकको तुलनामा चीनको चासो धेरै रहेको विश्वविद्यालयका एक प्राध्यापक बताउँछन् । लुम्बिनी विश्वविद्यालयमा चीनको यति लगानी छ भनेर नत विश्वविद्यालय नै बताउँछ, नत चीनले नै यसको औपचारिक रुपमा पुष्टि गर्छ । चीनले लुम्बिनी विश्वविद्यालयलाई भित्र भित्रै ठुलै सहयोग गर्दै आएको छ । लुम्बिनी विश्वविद्यालमा चीनियाँ नागरिकहरुले समेत सहयोग प्रदान गरेका छन् । 

लुम्बिनी बौद्ध विश्वविद्यालयको छात्रवृत्ति कोष तथा अनुसन्धान कार्यमा सघाउने भन्दै गत साउनमा चीनियाँ भिक्षु तथा नागरिकहरुले व्यक्तिगत रुपमा ४० लाख एक हजार रुपैया दान गरेका थिए । लुम्बिनी बौद्ध विश्वविद्यालयमा आयोजित एक कार्यक्रममा चीनियाँ भिक्षु स्याओसिंसहितको टोलीले निमित्त उपकुलपति एवं रजिष्ट्रार डा. तिलकराम आचार्यलाई सो दान रकम हस्तान्तरण गरेका थिए । 

त्यस्तै लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबीच सहकार्य सम्झौता भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा गत पुस १५ गते लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल बज्राचार्य र बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयका अध्यक्ष त्वाङ फङबीच सहमतिपत्र आदानप्रदान भएको थियो । समझदारी अनुसार दुवै मुलुकका ती विश्वविद्यालयले संस्कृति आदानप्रदान, भाषा शिक्षण, अनुसन्धान कार्यका लागि काम गर्नेछन् । यसैगरी बेइजिङमा नेपाल इन्स्टिच्युट र लुम्बिनीमा चाइना इन्स्टिच्युट स्थापना गर्ने समेत उल्लेख छ ।


 

 

author

Sanju Paudel

CESIF Fellow