लुम्बिनी विश्वविद्यालयमा प्रभाव बढाउँदै चीन

माघ २०८२ - विश्वविद्यालयस्तरमा भएका द्विपक्षीय सहकार्य र धार्मिक कार्यक्रम मार्फत लुम्बिनीमा चीनले आफ्नो प्रभाव बिस्तार गरिरहेको छ ।

लुम्बिनी विश्वविद्यालयमा स्नातक तहको ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट अध्ययन गरेका सागर पाण्डे यतिबेला स्नातकोत्तर तहको अध्ययनका लागि चीन गएका छन् । पाण्डे चीन सरकारको पूर्ण छात्रवृतिमा चीनको बेइजिङ नर्मल युनिभर्सिटीमा अध्ययन गर्न त्यहाँ पुगेका हुन् । अध्ययनका लागि सन् २०२५ को सेप्टेम्बरमा चीन गएका उनको पढाई खर्चको सबै जोहो चीन सरकारले नै गरिदिएको छ ।

नेपालले बौद्ध धर्मका प्रणेता सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा २०६१ सालमा लुम्बिनी विश्वविद्यालय स्थापना गरेको थियो । २०६७ सालदेखि विभिन्न शैक्षिक कार्यक्रम सुरु गरेको विश्वविद्यालयमा विभिन्न विधामा अध्यनरत विद्यार्थीलाई चीन सरकारले विभिन्न छात्रवृति प्रदान गरेर चीनमा पढ्ने अवसर दिदै आएको छ । तिनै छात्रवृति अन्तर्गत सागर पनि चीन पुगेका हुन् । विगत केही वर्षमा छात्रवृतिमा चीनका विश्वविद्यालयमा पढ्न जाने विद्यार्थीहरुको संख्या बढिरहेको छ।

लुम्बिनी विश्वविद्यालयका सूचना अधिकारी चुरामणी पोखरेलले सन् २०२३ देखि नेपाली विद्यार्थीहरुलाई अध्ययनका लागि चीन पठाउन सुरु गरेको बताए । सन् २०२३ देखि अहिलेसम्म २+२ अर्थात आधा सेमेस्टर नेपालमा आधा चीनमा अध्ययन गर्नका लागि विद्यार्थीहरु चीन गइरहेका छन् ।

त्यसबाहेक स्नातकोत्तर तहमा अध्ययनका लागि ४७ जना विद्यार्थी पूर्ण छात्रवृतिमा चीन गएका छन् । अध्ययनका लागि चीन गएका केही विद्यार्थीहरु अध्ययन पुरा गरेर नेपाल फर्किसकेका छन् । विद्यार्थीहरू नेपालबाट मात्र नभई, चीनबाट पनि बौद्ध धर्मावलम्बीहरुको उद्गमस्थल लुम्बिनीमा अध्ययनका लागि आउने गरेका छन् । पोखरेलका अनुसार लुम्बिनी आउने अधिकांश विद्यार्थी चीनको युनान विश्वविद्यालय र नानहाई बुद्धिजम एकेडेमीका छन् ।

सन् २०२४ को डिसेम्बरमा लुम्बिनीमा नानहाई सम्मेलन गरिएको थियो । चीनका विवादित पञ्चेन लामाको उपस्थितिमा सम्मेलन आयोजना गर्ने योजना भएपनि चौतर्फी विरोधका कारण अन्तिम समयमा स्थगित गरिएको थियो ।

अहिलेसम्म ४० जना विद्यार्थीले बौद्ध दर्शनमा विद्यावारिधी हासिल गरिसकेको लुम्बिनी विश्वविद्यालयमा म्यानमार, भारत, अमेरिका लगायतका देशबाट पनि विज्ञहरू आउने गरेका छन् । ती देशहरुमध्ये लुम्बिनी विश्वविद्यालयमा चिनीयाँ प्राध्यापकको उपस्थिति बाक्लो हुने गरेको छ भने अध्ययन भ्रमणका लागि चीन जाने नेपाली विद्यार्थीहरुको संख्या पनि अन्य देशको तुलनामा धेरै छ ।

नजिकिदै चीन सरकार र लुम्बिनी विश्वविद्यालय

लुम्बिनी विश्वविद्यालयले अहिलेसम्म ७७ वटा अन्तर्राष्ट्रिय संस्था तथा विश्वविद्यालयसँग सहकार्यका लागि सम्झौता गरेको विश्वविद्यालयका सूचना अधिकारी पोखरेलले बताए । ती मध्ये १९ सम्झौता चिनियाँ विश्वविद्यालय र संस्थासँग भएका छन् ।

सन् २०२४ डिसेम्बरमा लुम्बिनी विश्वविद्यालय र बेइजिङ ल्याङग्वेज एण्ड कल्चरल युनिभरसिटिसँग सम्झौता भएको थियो । सो सम्झौता अनुसार लुम्बिनी विश्वविद्यालय परिसर भित्र चाइना इन्स्टिच्युट अफ नेपालको स्थापना गरिएको थियो ।

सोही सम्झौता अनुसार चिनियाँ भाषा र संस्कृतिको प्रवद्र्धनका साथै दुई देशबीचको सम्बन्धलाई शैक्षिक र साँस्कृतिक आधारलाई संस्थागत रूप दिएको विश्वविद्यालयको विश्वास छ । यो संस्थाले नेपाली विद्यार्थीहरूलाई चिनियाँ भाषा अध्ययन, छात्रवृत्ति, संस्कृति आदानप्रदान र अनुसन्धान परियोजनाहरूमा संलग्न गराइरहेको छ । यसैगरी बेइजिङस्थित नेपाल इन्स्ट्च्यिुट अफ चाइनाले नेपाली भाषा र बौद्धशास्त्रको अध्ययनलाई चीनमा प्रवद्र्धन गर्ने कार्य गरिरहेको छ ।

सन् २०१० नोभेम्बर ८ मा चीनको जिनान विश्वविद्यालयसँग शैक्षिक तथा अनुसन्धान क्षेत्रमा सहकार्य सशक्त बनाउन दुवै विश्वविद्यालयले शिक्षण सामग्रीको आदान–प्रदान गर्ने र संयुक्त अनुसन्धान गतिविधिहरू सञ्चालन गर्ने सम्झौता भएको थियो । सोही सम्झौता अन्तर्गत शिक्षण सामाग्री आदानप्रदान भइरहेका छन् ।

चीनको हार्विन पब्लिकेशन हाउसले लुम्बिनी बौद्ध विश्वविद्यालयसंग सहकार्यका लागि सन् २०२१ जनवरी २१ मा एउटा सम्झौतामा हस्ताक्षर गरेको थियो । सम्झौता अनुसार हार्विन पब्लिकेशन हाउसले चीनमा प्रकाशित बौद्ध धर्म तथा सम्बन्धित विषयका साहित्यहरू लुम्बिनी बौद्ध विश्वविद्यालयलाई नि:शुल्क रूपमा प्रदान गरिरहेको छ । यस सहकार्यले विश्वविद्यालयमा बौद्ध अध्ययन तथा अनुसन्धानकर्मीहरुका लागि स्रोत–सामग्री थप समृद्ध बनाउने अपेक्षा गरिएको छ । यसले चीन–नेपाल शैक्षिक तथा साँस्कृतिक सम्बन्ध थप प्रगाढ बनाएको छ ।

सन् २०२४ अगस्ट २४ मा टिचर एसोशिएसन अफ चाईनीज भाषासँग पनि विश्वविद्यालयले सम्झौता गरेको थियो । शैक्षिक संस्थाबीच समझदारी स्थापित गर्दै भाषा शिक्षालाई विद्यालय तथा विश्वविद्यालय तहमा विस्तार गर्ने पहल सुरु गर्ने गरी सम्झौता भएको थियो ।

यससँगै संयुक्त शैक्षिक सम्मेलन, व्याख्यान, कार्यशाला तथा प्रदर्शनीहरू नियमित रूपमा आयोजना गरिने सम्झौतामा उल्लेख छ । यी कार्यक्रमहरूले दुबै देशका विद्यार्थी, शोधकर्ताहरू तथा शिक्षकहरूबीच शैक्षिक आदान–प्रदान र अनुभव साझेदारीलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको विश्वविद्यालयका सूचना अधिकारी पोखरेलले बताए ।

चिनियाँ विश्वविद्यालयको सक्रियता

लुम्बिनी विश्वविद्यालय र चीनको जिनान विश्वविद्यालय बीच ८ नोभेम्बर, २०१० मा शिक्षण सामग्रीहरूको आदान–प्रदान र संयुक्त अनुसन्धान गतिविधिहरू सञ्चालन गर्न सम्झौता भएको थियो । भारतको नालन्दा विश्वविद्यालयसँग २५ जुन, २०२२ मा संयुक्त पी.एच.डी. कार्यक्रमहरू गर्ने, संयुक्त अनुसन्धान पर्यवेक्षण र शान्ति तथा द्वन्द्व समाधानमा विद्यावारिधी पश्चात अनुसन्धान गर्ने उद्धेश्यका साथ सम्झौता भएको छ ।

चीनको युनान विश्वविद्यालयसँग १० मे २०२३ मा स्नातक तथा स्नातकोत्तर विद्यार्थीहरूको आदान–प्रदान गर्ने र संयुक्त अनुसन्धान गतिविधिहरू सञ्चालनका लागि सम्झौता भएको छ ।

चाईना ल्याङग्वेज रिसोर्स ऐकेडेमी, चीनसँग बौद्ध अध्ययनमा प्रतिभा विकास गर्ने र संयुक्त शैक्षिक सम्मेलन, व्याख्यान, कार्यशाला तथा प्रदर्शनी आयोजना गर्ने उद्धेश्यका साथ लुम्बिनी विश्वविद्यालयसंग सम्झौता भएको छ ।

विश्वविद्यालयसंग एक पछि अर्को सम्झौता भएका छन् । २१ जनवरी, २०२१ मा हार्विन पब्लिकेशन हाउस, २०२३ मा शानक्यासी अन्तर्राष्ट्रिय चिनियाँ अनुसन्धान संघ, चाईनीज टेसिटीङ कम्पनी लिमिटेड र लुम्बिनी बौद्ध विश्विद्यालय तथा हेमान इन्सिटच्यूट अफ ईकोनोमी एण्ड ट्रेडले लुम्बिनी विश्वविद्यालयसंग सम्झौता गरेका छन् । सन् २०२४ मा बेइजिङ बाप अन्तर्राष्ट्रिय चिकत्सा अनुसन्धान संस्थान, चाइना इ डिसिप्लिन कलेज ग्रुप लिमिटेड, चाईनीज टेष्ट सेन्टर, टिचर एसोसिएसन अफ चाईनीज ल्याङ्ग्वाइज र हैनान नर्मल विश्वविद्यालयले सम्झौता गरेका छन् । त्यसैगरी सन् २०२५ मा बेईजिंग इन्टरनेशनल कजेल चाइनाले लुम्बिनी विश्वविद्यालयसंग सम्झौता गरेका छन् ।

चिनियाँ शैक्षिक संस्था र विश्वविद्यालयसंग गरिएका सम्झौताको उद्देश्य शैक्षिक सहकार्य तथा साँस्कृतिक गतिविधि आदानप्रदान गर्ने उल्लेख गरिएको छ । लुम्बिनी विश्वविद्यालयका सूचना अधिकारी पोखरेल सम्झौताले शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउन सहयोग पुग्नुका साथै साँस्कृतिक सम्बन्ध प्रगाढ भएको बताउँछन् ।

यी सबै सम्बन्धले लुम्बिनी विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय बौद्ध अध्ययन केन्द्र बनाएको छ । जहाँ पूर्वी एसियाली दर्शन, दक्षिण एसियाली परम्परा र पाश्चात्य शैक्षिक दृष्टिकोण एउटै थलोमा एकत्रित हुन्छन् । चिनियाँ सहयोगले विश्वविद्यालयका विद्यार्थीहरूलाई चिनियाँ छात्रवृत्ति र पूर्वाधार विस्तारका अवसरहरू मिलिरहेका छन् भने चिनियाँ विद्यार्थीहरूलाई पनि लुम्बिनीको आध्यात्मिक परिवेशमा अध्ययन गर्ने मौका मिलिरहेको छ ।

लुम्बिनी विश्वविद्यालयको प्रभाव

विश्वविद्यालय अन्तर्गत बुटवलको नयाँगाउँमा सञ्चालनमा आएको सिटी क्याम्पसमा बीए, एलएलबी र ट्राभल एन्ड टुरिजम शैक्षिक कार्यक्रम सञ्चालनमा छन् । बुद्धसँग सम्बन्धित देवदहमा स्कुल अफ डेभलपमेन्ट एन्ड एप्लाइड साइन्स अन्तर्गत स्नातकोत्तर तहमा डेभलपमेन्ट स्डडिज र एग्रोफोरेष्ट्री कार्यक्रम सञ्चालनमा रहेको छ । विश्वविद्यालयले आठ कलेजलाई सम्बन्धन दिएको छ ।

३० शैक्षिक कार्यक्रमका लागि अहिले ११३ बिघा जमिनमा फैलिएको विश्वविद्यालयको जग्गा देवदह, बुटवलको नयाँगाउँमा र लुम्बिनीमा रहेको छ ।

अहिले केन्द्रीय क्याम्पस, सिटी क्याम्पस, केन्द्रीय कार्यालय, केन्द्रीय पुस्तकालय, पदाधिकारी आवास, शिक्षक आवास, छात्रावास निर्माणका काम सम्पन्न भएका छन् । पदाधिकारीका लागि आवास गृहदेखि १६ जनाका लागि शिक्षक आवास भवन बनेको छ भने करिब सयजना विद्यार्थीका लागि छात्रावास बनेका छन् ।

त्यस्तै विश्वविद्यालयलाई अझ व्यवस्थित गर्ने क्रममा अनुसन्धान केन्द्र लुम्बिनी र देवदहमा प्रशासनिक भवन निर्माण कार्य भइरहेको छ । अहिले ९३ पूर्णकालीन शिक्षक, कर्मचारी र पदाधिकारी कार्यरत छन् । विषयगत शिक्षक कम छन् । पूर्णकालीन शिक्षक कर्मचारी नहुँदा केही समस्या रहेको जनाइको छ ।

विश्वविद्यालयले गति बढाउँदै लगे पनि यहाँ पर्याप्त शैक्षिक जनशक्ति व्यवस्थापन हुन सकेको छैन । सरकारबाट दरबन्दी व्यवस्थापन हुन नसकेको र सीमित आर्थिक स्रोतसाधनबाट भए पनि गति बढाउँदै लगिएको विश्वविद्यालयका पदाधिकारी बताउँछन् । दरबन्दी व्यवस्थापनका लागि विश्वविद्यालय अनुदान आयोगमा, मन्त्रालयमा प्रस्ताव पेस गरिएको र विश्वविद्यालय सभाले २१९ जनाको दरबन्दी स्वीकृत गरेको छ ।

विश्वविद्यालयले म्यानमार, भारत, चीन, अमेरिकासहितका विभिन्न देशबाट विज्ञहरू ल्याएर अध्ययनका काम अगाडि बढाउँदै आएको छ । संसारभरका बौद्ध दर्शनमा ज्ञान राख्न चाहनेका लागि विश्वविद्यालय राम्रो अध्ययन केन्द्र बनिरहेको भएपनि चिनियाँ सक्रियता अरु देशको भन्दा धेरै छ ।

अनुसन्धान केन्द्रले बौद्ध दर्शनका पुराना ग्रन्थहरूको अनुवाद गरिरहको छ । पाली भाषामा रहेका बौद्ध धर्मसंग सम्बन्धित महत्वपूर्ण ग्रन्थहरूको नेपालीमा अनुवाद गरिएको छ । लगभग एक दर्जन तयार भएका छन् भने ती मध्ये केही प्रकाशित समेत भएका छन् ।

वैदेशिक सहयोगमा नेपालका सातवटै प्रदेशमा रिसर्च सेन्टरहरूको स्थापनाका लागि अध्ययनको काम भइरहेको छ ।

बौद्ध विश्वविद्यालयको चहलपहललाई चिनियाँ कम्पनीले निर्माण गरेको भैरहवा अन्तरर्राष्ट्रिय विमानस्थलले पनि साथ दिएको छ । यसले लुम्बिनीलाई चीनसंग सीधा हवाई सम्पर्कले जोडेको छ ।

चीनका विश्वविद्यालयहरूसँग लुम्बिनी विश्वविद्यालयको सम्बन्ध गहिरो, बौद्धिक र सांस्कृतिक सन्दर्भमा अर्थपूर्ण बन्दै गएको छ । यी सम्बन्धहरूले नेपाली–चीनियाँ मैत्रीलाई केवल कूटनीतिक तहमा होइन, जनस्तर, शैक्षिक तह र संस्कृतिको साझा धरोहरका रूपमा समेत उजागर गरेका छन् ।

सांस्कृतिक सम्बन्धको ऐतिहासिक पृष्ठभूमिमा फर्कदा, चीनका प्राचीन बौद्ध भिक्षुहरू—फाहियान र ह्वेनचाङ—ले लुम्बिनी लगायतका स्थानहरूको यात्रा गरेको उनीहरुको यात्रा वृत्तान्तमै भेटिन्छ । यसले पनि पुष्टि गर्छ, नेपाल–चीनको सांस्कृतिक सम्बन्ध धेरै लामो छ ।

आधुनिक युगमा लुम्बिनी विश्वविद्यालय चीनका थुप्रै विश्वविद्यालयहरूसँग औपचारिक समझदारीमा प्रवेश गरेर भाषा, धर्म, संस्कृति, औषध विज्ञान, पुरातत्व र दर्शनको क्षेत्रमा संयुक्त अनुसन्धान, सम्मेलन, विद्यार्थी र प्राध्यापक आदानप्रदान तथा संस्थागत विकासमा लागिपरेको विश्वविद्यालयले जनाएको छ ।

 

author

Sanju Paudel

CESIF Fellow