मंसिर २०८३ - कोरोना महामारीका कारण बन्द भएको हुम्लाको लिमी लाप्चा र तिब्बतको पुराङ काउन्टी जोड्ने नाका २०८१ सालमा खुल्यो । यी बाहेकका दुई परम्परागत व्यापारिक नाका भने अझै खुलेका छैनन्। हुम्ला जिल्लाकै हिल्सा नाकालाई नेपाल र चीनले अन्तर्राष्ट्रिय नाकाको मान्यता दिएका छन्।
नेपालबाट कैलाश मानसरोवर पुग्ने छोटो दूरीको नाकाका रूपमा हिल्सा नाका चर्चित छ। हिल्सा नाका अन्तर्राष्ट्रिय नाकाका रूपमा २०८१ सालमै खुलिसकेको छ। तर हुम्ला जिल्लाभित्रै सिमकोट गाउँपालिका–१ को दोजाममा पर्ने च्वाखोला र चंखेली गाउँपालिका–५ को नेप्के गाउँमा पर्ने टाँके नाका चिनियाँ पक्षले नखोल्दा बन्द अवस्थामै छन्। यी दुई नाका वर्षौंदेखि सञ्चालन हुँदै आएका परम्परागत व्यापारिक नाका हुन्।
चंखेली गाउँपालिका–५ को नेप्के गाउँको टाँकेमा पर्ने टाँके नाकाबाट तीन दिन पैदल हिँडेपछि चीनको दोङपा काउन्टीको हरियाचौर पुगिने चंखेली गाउँपालिका वडा नं. ५ का रूपधन तामाङले जानकारी दिए।
कोरोना महामारीदेखि यो नाका बन्द भएसँगै स्थानीय र चिनियाँ सरकारबीचको परम्परागत हाटबजार पनि बन्द भएको तामाङले बताए। नेपालबाट चीनतर्फ स्याउ, आलु, चुली, अन्न, जौ, उवा र सिमी लगायतका कृषि उत्पादन घोडा, खच्चर र झोपामा बोकाएर चीनको हरियाचौर पुर्याइन्थ्यो। चिनियाँ कृषकबाट घिउ, ऊन, नुन र छुर्पी साटफेर गरिने गरेको चंखेलीका स्थानीय रूपबहादुर तामाङले बताए।
“नाका बन्द भएपछि चीन र नेपालको परम्परागत व्यापार रोकिएकाले समस्या भएको छ,” उनले भने। नेपाली सामानभन्दा चीनबाट आएको सामान सस्तो हुने भएकाले बाबुबाजेको पालादेखि नै वर्षमा एकपटक चीनसँग दैनिक उपभोग्य वस्तुको साटफेर गरेर जीविकोपार्जन गर्दै आएको उनले बताए। सुरुमा नेपालबाट कुटकी, जटामसी र वन लसुन लगायतका जडीबुटीको पनि व्यापार हुने गरेकोमा पछि दैनिक उपभोग्य वस्तु पनि समेटिएका थिए। तर चिनियाँ पक्षले नाका बन्द गरेपछि दुवै तर्फका कृषक मारमा परेका छन्। वर्षमा एकपटक व्यापार गरेर जीविका धान्ने उनीहरूको वर्षौं पुरानो परम्परा रोकिएको छ।
परम्परागत चिनियाँ नाका ओझेलमा
हुम्लाको चंखेली गाउँपालिका–५ मा पर्ने टाँके नाका परम्परागत व्यापारिक नाका हो। कोरोना महामारीपछि यो नाका बन्द हुँदा स्थानीयको परम्परागत वस्तु विनिमय ठप्प भएको छ। नेपालबाट वर्षेनी स्याउ, चुली, ओखर, रातो चामल, उवा, जौ र जडीबुटी निर्यात हुँदै आएको यो नाका कोरोना महामारीपछि बन्द भएको चंखेली गाउँपालिका–५ का वडाध्यक्ष हर्कधन तामाङले जानकारी दिए।
चीनबाट खाने तेल, घिउ, मैदा, भोटेचिया, ऊन, नुन र च्याङ्ग्रा लगायतका सामान साटफेर हुँदै आएको थियो। नाका बन्द भएसँगै हुम्लाका चार वटा गाउँपालिकाका स्थानीयले सास्ती खेपिरहेको वडाध्यक्ष तामाङले बताए। परम्परागत रूपमा व्यापारका लागि चीन र नेपाल दुवैतर्फ वर्षेनी साउन महिनामा १५ दिन हाटबजार (व्यापार मेला) लाग्थ्यो। चीनले नाका नखोल्दा चंखेली, अदानचुली, ताँजाकोट र सर्केगाड गाउँपालिकाका स्थानीयवासी मर्कामा परेको उनले दुखेसो पोखे।
घोडा, खच्चर, झोपाबाट ढुवानी
नेपाल–चीन सीमाक्षेत्रमा लाग्ने वार्षिक हाटबजारका क्रममा चिनियाँ चौरमा पाल टाँगेर राखिएका पसल तथा सामान ढुवानीका लागि प्रयोग गरिएका चौँरी र घोडाहरू। । तस्बिर: नरजन तामाङ
नेपालबाट चीनको हरियाचौर भन्ने ठाउँमा परम्परादेखि नै वर्षेनी १५ दिन हाटबजार लाग्थ्यो। हुम्लाका स्थानीयहरू टाँके नाका भएर सयौं घोडा, खच्चर, झोपा र भेडाबाख्रामा सामान बोकाएर जान्थे। चीनबाट नुन, ऊन, घिउ, मैदा र भोटेचिया ल्याउन उनीहरू वर्षेनी चिनियाँ बजार पुग्थे। १५ दिने हाटबजारमा सामान किनबेच गरेपछि आ–आफ्नो घर फर्कने गरेको स्थानीय देवीसिंह तामाङले बताए।
कोरोना महामारीपछि चीनले नाका बन्द गरेपछि यहाँका नागरिक नेपालबाट महँगो मूल्यमा दैनिक उपभोग्य वस्तु किनेर खान बाध्य भएको उनले बताए। “वर्षेनी साउन महिनाको १ गतेदेखि महिला र पुरुषहरू घोडा, खच्चर, झोपा र भेडाबाख्रालाई भारी बोकाएर सामान साटेर ल्याउँथ्यौं। नाका बन्द भएपछि समस्या भएको छ,” उनले भने।
नेपालतर्फ सडक यातायातको सुविधा नहुँदा कठिन चट्टानी बाटो हुँदै खच्चरमा दैनिक उपभोग्य तथा व्यापारिक सामान बोकाएर फर्कँदै स्थानीय व्यापारीहरू। । तस्बिर: नरजन तामाङ
सीमापास बन्यो, नाका खुलेन
गत वर्ष हुम्लाको चंखेली गाउँपालिका–५ मा पर्ने टाँके नाका खुल्ने आसमा जिल्ला प्रशासन कार्यालय हुम्लाबाट ९०० जनाले अस्थायी सीमापास लिएका थिए। तर टाँके नाका नखुलेपछि हुम्ला र मुगुको बीचमा रहेको नाग्चेलाग्ना हुँदै हयाजुमार हाटबजार पुगेर व्यापार गरी घर फर्केको स्थानीय भैरवबहादुर तामाङले बताए। मुगु जिल्लाभित्र पर्ने नाग्चेलाग्ना हुँदै व्यापार गर्न जाँदा टाँके नाकाभन्दा नजिक भए पनि ४ दिन पैदल हिँडेपछि मात्र हयाजुमार हाटबजार पुगेको उनको गुनासो छ। हयाजुमार हाट पुगेर नुन, तेल, ऊन, चिया, घिउ, मैदा र चामल किनेर चंखेली गाउँपालिका–५ को सिङ्गो वडाका स्थानीय फर्किएको उनीहरूले बताए।
१० हजारभन्दा बढीले लिए सीमापास
नेपाल र चीनको सिमानामा अवस्थित सीमा स्तम्भ (पिलर)। कोरोना महामारीपछि चिनियाँ पक्षले टाँके र नाग्चेलाग्ना जस्ता परम्परागत नाका नखोल्दा सीमा क्षेत्र सुनसान बनेको छ। तस्बिर: नरजन तामाङ
जिल्ला प्रशासन कार्यालय हुम्लाका अनुसार कोरोना महामारीपछि १० हजारभन्दा बढीले अस्थायी सीमापास लिएका छन्। प्रत्येक वर्ष सीमापास लिने र नवीकरण गर्नेको सङ्ख्या १० हजारभन्दा माथि रहेको प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले बताए। अधिकांश हिल्सा नाका भएर चीनको तक्लाकोट जाने भए पनि हुम्लाको अर्को व्यापारिक नाका लिमी लाप्चाबाट पनि व्यापार हुने गरेको उनले जानकारी दिए। टाँके नाका चीनतर्फ दोङपा काउन्टीसँग जोडिने भएकाले यस विषयमा आफूले पहल लिन नसकेको प्रजिअ गुरागाईंले बताए। आगामी वर्षदेखि दोङपा काउन्टीसँग समन्वय गरी नाका खुलाउन पहल गरिने उनले जनाए।
गत वर्ष साउन महिनामा चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीको नेतृत्वमा २७ जनाको टोली हेलिकप्टरमार्फत टाँके नाका खुलाउन चीनको हरियाचौर पुगेको थियो। अध्यक्ष शाहीले दुई देशबीचको सीमापार व्यापार प्रवर्द्धनका लागि गत वर्ष साउन महिनामा चिनियाँ अधिकारीसँग वार्ता गरेर फर्के पनि पहल सफल नभएपछि यस वर्ष टाँके नाका खुल्न नसकेको स्थानीयवासीको गुनासो छ। गाउँपालिका अध्यक्ष शाहीले भने, “टाँके नाका व्यापारिक नाका भएकाले गत वर्ष चिनियाँ टोलीसँग समन्वय गरी खुलाउने प्रयास गरेको हो। यस वर्ष किन खुलेन, त्यो उनीहरूको विषय भयो।”
नेपाल–चीनका अधिकारीबीच परम्परागत रूपमा व्यापार हुँदै आएको नाका खुलाउन पहल गरिएको भए पनि चीनले यस वर्ष नखोलेको उनले बताए।
छिमेकी मुगुको नाग्चेलाग्ना पनि यस वर्ष खुलेन
सीमापार हाटबजारका लागि चिनियाँ व्यापारीहरूले ट्रकमा सामान ल्याएर पाल टाँगी सञ्चालन गरेको अस्थायी बजार तथा किनमेल गर्दै स्थानीय। तस्बिर: नरजन तामाङ
परापूर्वकालदेखि यस क्षेत्रमा नेपाल र चीनका जनतालाई आवश्यक पर्ने वस्तु तथा पशुचौपाया हाटबजार लगाएर किनबेच गर्दै आए पनि कोरोनाको समयमा यो बन्द भएको थियो। २०८२ सालको साउन महिनामा १५ दिनका लागि खोलिने अस्थायी हाटबजार यस वर्ष बन्द छ।
गत वर्ष अस्थायी नाका खोल्न र हाटबजार नियमित गर्न चिनियाँ दूतावास र नेपालको परराष्ट्र मन्त्रालयमा गाउँपालिका र मुगुबाट निर्वाचित जनप्रतिनिधि तथा राजनीतिक दलका अगुवाहरूले पहल गरेपछि नाका खोलिएको थियो। यस वर्ष नाग्चेलाग्ना नखुल्दा छिमेकी जिल्ला मुगुका बासिन्दालाई पनि वस्तु विनिमयमा समस्या परेको छ।
विगतझैं चीनको हयाजुमारमा १५ दिनसम्म हाटबजार लाग्ने भए पनि यसपटक नखुलेको मुगुको मुगुमकार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याफ्ने लामाले जानकारी दिए। “यो नाकाबाट चीन र नेपालको बीचमा परम्परागत हाट लाग्थ्यो। हामी मुगालीहरू वस्तु विनिमयका लागि काठका लठ्ठी, यार्सागुम्बा, नेपाली जुत्ता र जडीबुटी बिक्री गर्ने गरेका थियौँ,” उनले भने, “यस्तै चिनियाँहरू सिमेन्ट, जस्तापाता, भेडा, चामल, छुर्पी, चिया र लत्ताकपडा बिक्री गर्थे। यस वर्ष नाका बन्द भएपछि हामीलाई समस्या भयो।”
चीनतर्फ सीमासम्मै सडक पुगेकाले चिनियाँ व्यापारीले बिक्री गर्ने सामान ट्रकमा ल्याउने गरेका छन्। हयाजुमारमा चीनले ठूलो गोदामघर बनाएको छ। चिनियाँ व्यापारी र स्थानीयले आफूले बिक्री गर्न ल्याएका सामान र नेपालीबाट किनेका सामान त्यही गोदाममा राख्ने चलन पनि रहेको उनले बताए।
नेपालतर्फ सडक र यातायातका साधन नहुँदा स्थानीय र व्यापारीहरू घोडा, खच्चर र चौँरीमा व्यापार गर्ने सामान बोकाएर लैजाने गरेको मुगुमकार्मारोङ गाउँपालिका–१ का वडाध्यक्ष च्याबा लामाले बताए।
सस्तो र नजिकै दैनिक उपभोग्य लगायतका घरायसी सामान किन्ने मुगुवासीलाई समस्या भएको उनको भनाइ छ। वर्षमा १५ दिनसम्म लाग्ने हाटबजार यस वर्ष बन्द भएपछि हुम्लीवासी र मुगुवासीले समस्या भोग्नुपरेको छ।
