लप्चीवासीको पीडा : जिविकोपार्जनै कठिन

दोलखा - नेपाल–चीन सीमा नजिकमा रहेको लप्ची गाउँ टाढा सहरबाट हेर्दा जति सहज छ, स्थानीयवासीका लागि पीडा र व्यथा छ ।  सदरमुकाम चरिकोटबाट ६८ किलोमिटर गाडीको यात्रामा विगू गाउँपालिका-१ लामाबगर पुगिन्छ । लामाबगरबाट कठिन भीर र खोलाको बाटो हुँदै २ दिन यात्रापछि सोही वडाको लप्ची पुगिन्छ । लप्चीमा ५० घर शेर्पाहरुको बसोबास छ । उनीहरुको पेशा चौरी र घोडा पालन मात्र हो । नेपाली भुभाग लामाबगरतिर आउने कठिन भीर र खोला हुने भएकाले आउजाउ नै कठिन छ । 
समुद्री सतहबाट ४ हजार २ सय मिटर उचाइमा रहेको यो हिमाली उपत्यका हो । यहाँबाट एक घण्टाको यात्रामा चिनियाँ सिमाना पुगिन्छ । राज्यको उपस्थिति नभएको यहाँ यिनै स्थानीयले  सीमा रक्षाको काम समेत गर्दै आएका छन् । यहाँ न त कुनै खेती हुन्छ ? न अरु वैकल्पिक पेशा छ । यहाँका बासिन्दाको जीविकोपार्जनको मुख्य पेशा चौंरी पाल्नु हो । तर यही चौंरी पनि बेच्न नपाएर उनीहरु हैरान छन् । परम्परादेखि नै किनमेल, खाद्यान्न र चौरी, घोडाको किनबेच तिब्बतको न्यालमतिरै हुन्छ । 
आफूले पालेका चौरी र घोडा बेच्न पाउनुपर्ने माग गर्दै पटक पटक सदरमुकाम चरिकोटदेखि काठमाडौंसम्म हारगुहार गर्न पुगे । कथा सुन्नेहरुबाट 'हुन्छ, पहल गर्छौं' भन्ने आश्वासन बाहेक केही पाएका छैनन् । राज्य सञ्चालनमा बस्नेले नै आश्वासन बाहेक अरु केही दिन नसकेपछि अरुको भर पनि गर्न छाडेका छन् । 


लप्चीबासीले ६ वर्षदेखि याक, चौरी, घोडा, जोप्क्यो, डिमू बिक्री रोकिंदा पीडा भोग्नु परेकाहरुका लागि बल्ल राहत महसुस भएको छ । कोरोना कहरपछि चनियाँ पक्षले नाका बन्द गरेपछि लप्चीबासीको पीडा थपिएको थियो । 


डेढ वर्ष अघि चिनतिरको नाकाहरु पूर्ववत अवस्थामा सञ्चालनमा ल्याउने घोषणा भयो । तर लप्चीबासीका लागि बल्ल ६ महिना अघि मात्रै खुल्यो । त्यो पनि सहज आवत जावत पुरानो भन्दा झण्झटयुक्त भएको छ । अहिले नाका त खुल्यो त्यो पनि सीमा क्षेत्रमा बस्ने ५० घरका बासिन्दाका लागि दैनिक उपभोग्य वस्तु किनमेल गर्न मात्रै । त्यो पनि गृह मन्त्रालयले परिपत्र गरेपछि जिल्ला प्रशासनले पास जारी गरेकाहरुले पात्र जान पाउँछन् । 


कोरोना अघि तिब्बतको निश्चित स्थानसम्म आवतजावत सहज थियो । चौरी, घोडा र तिनको उत्पादन किनबेचका लागि सहज थियो । तर पछिल्लो समय नाका खुलेपछि त्यो सहजता हटेको छ । दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलखबहादुर आलेले स्थानीयको माग र गृह मन्त्रालयको परिपत्रपछि लप्चीबासीका लागि पास जारी गरेको जानकारी दिए । स्थानीय तहले सिफारिस गरेपछि नाका खुलेपछि ६ वर्षदेखि रोकिएको चौरी, याक र तिनका बाछाबाछी ५ सयभन्दा बढी तिब्बतमा बिक्री गरेका छन् ।
यतिसम्म कि कोरोनापछि ४ वर्ष त चौरी चर्ने खर्क समेत पाउन नसक्दा भएका चौरी पनि पाल्न उत्तिकै कठिन भयो । अहिले चौरी खर्क चरनमा त सहज छ तर चौरी किनबेच भएको छैन । 
लप्चीमा चौरी चरनको पर्याप्त खर्क पनि छैन । चौरीका लागि चरनसँगै स्थानीयबासीको जीवन नै फिरन्ते जस्तै छ । चौरीसँगै बसोबास पनि ठाउँ ठाउँमै हुन्छ । जाडो मौसममा लुम्नाङमा चौरी हुन्छन् । उनीहरुको बसोबास पनि त्यही रहन्छ । गर्मी सुरु हुनासाथ चैतबाट विस्तारै चौरीसँगै लेक चढ्न थाल्छन् । 
विगू गाउँपालिका अध्यक्ष सञ्जिव ओलीले हरेक दुई देशबीचको जिल्लास्तरीय सीमा बैठकमा चौरी चरनको विषयमा छलफल हुँदै आएकोले अब केही सहज हुने विश्वास गरे ।


लुम्नाङबाट चौरी लिएर लप्चीसम्म पुग्न एक महिना लाग्छ । जेठपछि चौरी तिब्बतीय खर्कमा जान्छन् । कार्तिकपछि फेरि ओरालो झारेर लप्ची हुँदै लुम्नाङ ल्याउने हो । यो  धेरै वर्षदेखि चल्दै आएको चक्र हो । चौरीचरनको ठूला खर्क तिब्बततिरै छन् । खर्कमा चौरी चराए वापत किसानले तिब्बतको स्थानीय सरकारलाई  घिऊ, छुर्पी तिर्दै आएका छन् । 


डेढ वर्ष अघि जिल्ला तहबाट समाधान नहुने भएपछि विगू गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष मेम्बा तमाङ लप्चीबासीसहित काठमाडौंको सिंहदरबार पुगे । उनीहरुले तत्कालीन परराष्ट्रमन्त्री एनपी साउद र वाणिज्य मन्त्री रमेश रिजाललाई भेट गरी आफ्नो पीडा पोखे । मन्त्रीहरुले समस्या समाधान गर्ने आश्वासन दिएर फर्काएको वडा अध्यक्ष  तामाङले जानकारी दिए । त्यसपछि चौरी बिक्री वितरणमा सहज जस्तो भए तापनि पहिला जस्तो नभएको उनले बताए । 


चिनियाँ पक्षले खोलेको उत्तरी क्षेत्रका १४ वटा नाकामा लप्ची पनि पर्छ । दोलखामा रहेको तिब्बतसँग सीमा जोडिएका दोलखा विगू गाउँपालिका वडा नं. १ मा २ वटा नाका रहेका छन् । फलाक नाका नेपालको ६१ नं. पिलरबाट जान्छ । यो समुद्री सतहबाट २ हजार ५ सय १३ मिटर उचाइमा पर्छ । यही नाकाबाट तातोपानी नाका सडकमार्गले खोल्नु अघि काठमाडौंसँगको व्यापारिक नाका पनि हो ।


लप्ची नाका तिब्बतको छुप्साङ बजार जान्छ । यो नाका कोरोनापछि बन्द थियो । यो समुद्री सतहदेखि ४ हजार ३ सय मिटर उचाइमा पर्छ । यो तिब्बतको न्यालम काउन्टी अन्तर्गत रान्मुदिंमामा जोडिन्छ । तर अहिले चनियाँ पक्षले रोङजिया (फलाकतिर)लाई व्यापारका लागि प्राथमिकतामा राखेको छ । लप्चीबाट यो नाका पुग्न पनि भौगोलिक कठिनाइ र टाढा पर्छ । 


कानुनी रुपमा लप्चीको नाका खुले तापनि वैधानिक बाटोबाट पशुचौपाया बिक्री वितरण र ओसारपसारका लागि क्वारेन्टाइन लगायतका समस्याले पनि समस्या छ । विगतमा व्यवहारिक रुपमा किनबेच हुने गरेको थियो । वैधानिक बाटो असहज भएपछि चरनका लागि लगेको बेला चिनियाँ खर्कबाटै लुकीछिपी बेच्नु परेको छ ।


लप्चीमा चहलपहल बढेपछि चिनियाँ सुरक्षा पोष्ट सीमा नजिकै आएको छ । सुरक्षा निगरानी बढेकाले त्यसको प्रत्यक्ष असर लप्चीबासीलाई परेको हो । लप्चीबाट तिब्बती बजार छोप्साङ नजिक पर्छ । नेपालतिरभन्दा बाटो पनि सहज भएकाले घोडा लिएर बिहान गए दिउँसै बजार पुगेर आउन सकिन्छ । मंसिरदेखि चैतसम्म तिब्बततिरको बाटोमा हिउँ जम्ने हुँदा उता आवतजावत गर्न कठिन हुँदा असोज कार्तिकमै ६ महिनाका लागि खाद्यान्न जोहो गर्नु पर्छ ।


नेपालतिरको नजिकको बजार लामाबगर हो । लामाबगरबाट लप्चीमा सामान ढुवानी गर्न प्रति केजी १५० सम्म पर्छ । त्यसैले पनि उनीहरुका लागि नेपाली बजारभन्दा तिब्बती बजार नै सहज र सस्तो पर्छ । नेपालतिर कठिन भीरका कारण चौरी र घोडा आउजाउ हुन सक्दैन ।  चिनियाँ बजारमा छिर्न नपाउँदा महङ्गो मूल्य तिरेरै भएपछि खाद्यान्न लामाबगरबाटै लैजान बाध्य भए ।