संखुवासभा - कोरोना सङ्क्रमण सुरु हुनुअघि किमाथांकाका पासाङ भोटे नुन-तेलदेखि दैनिक उपभोग्य सामग्री किन्न तिब्बतको चाँगा बजार जान्थे । उतैबाट महिनादिनसम्म पुग्ने खाद्यान्न ल्याउँथे । सङ्क्रमणको बहानामा चीनले ४ वर्ष नाका बन्द गर्यो । कोरोनाका समयमा भोटखोलामा कसैलाई सङ्क्रमण देखिएन तर भोटखोलाबासीका लागि नाका बन्द भएको ४ वर्ष दैनिक गुजारा चलाउन समस्या भयो । किमाथांका नाका २०७६ माघ ५ देखि बन्द थियो ।
किमाथांका, चेपुवा, च्याम्ताङ, हटिया लगायतका गाउँका लागि दैनिक उपभोग्य सामाग्री चाँगाबजारबाट ल्याउदा सस्तो पर्छ । सदरमुकाम खाँदबारीबाट भीरपाखा गर्दै खच्चडलाई बोकाएर यी गाउँसम्म दैनिक उपभोग्य सामाग्री ल्याउँदा ढुवानी भाडा धेरै महंगो पर्छ । ढुवानी बढेपछि सामाग्री किनेर खान समस्या छ । नाका खुल्दा किमाथांकाबासी दैनिक रोजगारीका लागि देन्दाङ र चाँगा बजार जाने गरेका थिए । पासाङका अनुसार किमाथांका पट्टी रोजगारीका लागि दैनिक काम गर्न विकासे योजना छैनन् । 'यता काम गर्दा दैनिक सामान्य रुपमा एक हजार देखि १५ सयसम्म ज्याला पाईन्छ, उनले भने,'पारि गएर काम गर्दा दैनिक ४ हजार नेपाली रुपैयाँ कमाईन्यो । नाका खुल्ला हुदाँ भोटखोलाका अधिकांस स्थानीय गुजारा चलाउन पारी जान्थे । किमाथांकाबासीको आयस्रोत भनेको आलु, फापर, गहुँ, जौ र कोदो उत्पादन हो । यहाँ उत्पादन भएको सामाग्रीले ३ महिना पनि नपुग्ने भएकाले तिब्बतको भर पर्नुपर्ने बाध्यता छ । तिब्बतको चाँगाबाट ल्याईएको दैनिक उपभोग्य सामाग्री पछिल्लो समय सदरमुकाम खाँदबारीसम्म आईपुग्थ्यो ।
कोरोनापछि बन्द भएको नाका पटकपटक खोल्ने प्रयास भोटखोला गाउँपालिका र जिल्ला प्रशासन कार्यालयले नगरेको हैन । नाका बन्द हुँदा चिनियाँ बजारबाट भोटखोलामा खाद्यान्न आयात हुन नसक्दा बसाई सर्ने समेत बढेका छन् । भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेकाअनुसार नाका बन्दपछि रोजगारीको समस्या र खाद्यान्न पाउन छाडेपछि युवाहरु गाउँ बस्न छोडेका थिए । उनीहरु सुनसरी, मोरङ र राजधानी काठमाडौंमा बालबच्चासहित बसाइँ सरेका छन् । गाउँमा बुढापाका छाडेर युवा जति सहर गइसकेका छन् ।
'सदरमुकाम खाँदबारीबाट भोटखोला लगिएको दैनिक उपभोग्य सामाग्री किनेर खान नसक्ने भएपछि किमाथांका, थुदाम, रिदाक, छुमसुर लगायतका गाउँका झण्डै ५ सय स्थानीय र युवाहरुले गाउँ छाडेका छन्,' उनले भने । यी गाउँमा सदरमुकामबाट ढुवानी गरिएको उपभोग्य सामाग्रीको ढुवानीमात्रै एक किलोको ६० रुपैयाँ सम्म पर्छ । यी गाउँका स्थानीय दैनिक गुजारा चलाउन तिब्बतको डेन्दाङ बजारमा रोजगारीका लागि जान्थे, किनमेल गर्थे र घरखर्च चलाउँथे । ४ वर्ष बित्दासम्म नाका खुल्ने अत्तोपत्तो नभएपछि कोही सदरमुकाम झरेर जडीबुट्टीको व्यापारमा लागेका छन् भने कोही मधेसका जिल्ला र राजधानी बसाइँसरेका हुन् ।
चीनतिरबाट खाद्यान्न आयात रोकिएपछि सिर्जना भएको अभाव टार्न सदरमुकाम खाँदबारीबाट भरिया र खच्चडलाई बोकाएर किमाथांकासम्म खाद्यान्न पुर्याउने भएपनि महंगी धेरै छ,' उनले भने, 'चीनतिरबाट आयात बन्द भएपछि सदरमुकामबाट लगिएको खाद्य सामग्री महंगोमा स्थानीयले किन्नुपरेको छ, भोटखोलामा खाद्य अभाव हुन्छ ।' २०७६ माघ ५ देखि पूर्ण रुपमा बन्द नाका गतवर्ष जेठ १२ गते खुलेपनि आवतजावत भने सहज छैन । उनीहरुले खबर गरेको बेलामात्रै चाँगा बजार गएर किनमेल गर्न पाईन्छ ।
भोटखोलाबासीलाई तिब्बततर्फ जान स्थानीय स्तरमा करिब ८ सय अनुमतिपत्र पनि वितरण गरिसकिएको छ । सदरमुकामबाट तीनदेखि पाँच दिनको पैदल दूरीमा पर्ने भोटखोला क्षेत्रका बासिन्दाको आयआर्जन भनेकै जडिबुटी संकलन गरेर बिक्री गर्नु हो । यहाँ कोदो र आलु मात्र उत्पादन हुन्छ । करिब साढे ६ हजार मानिसको बसोबास रहेको यो क्षेत्रमा स्थानीय उत्पादनले तीन महिना पनि धान्दैन ।
भोटखोला गाउँपालिका-४ बरुण बजारका छिरुक भोटे किमाथांका नाखा खुल्दा चाईनिज जुत्ता, कम्बल, सिरक लगायतका सामाग्री बिक्री गरेर राम्रो आम्दानी गर्थे । 'तिब्बतबाट ल्याएका सामाग्री बिक्री गर्दा फाईदा थियो', उनले भने,'नाका बन्द भएपछि उताबाट सामान आउन ठप्प छ । सदरमुकामबाट गएका सामान भन्दा उताका सामान राम्रो र टिकाउ हुन्थ्यो । चाइनिज चकलेट, बिस्कुट, मदिरा र चाउचाउको माग धेरै थियो । स्वादका हिसाबलेपनि यी सामाग्री मिठो मानेर ग्राहकले खाने गरेका थिए ।'
भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेका अनुसार नाका खुलाउनका लागि गाउँपालिका स्तरबाट ९ पटक भन्दा बढी बिभिन्न निकायमा छलफल गरिएको थियो । प्रशासन मार्फत पनि धेरै पटक नाका खुलाउने प्रयास गरेका थियौ, उनले भने, जिल्लाका प्रदेश र संघका सांसदहरुबाट पनि प्रयास गरियो, तर, ४ वर्षसम्म नाका खुलाउन सकेका थिएनौं ।' जिल्ला सदरमुकामका राजनीतिक दल, विभिन्न ओहदामा बसेका राष्ट्रसेवक कर्मचारीसम्म नाका खुलाउने प्रयासका लागि धाएको उनले बताए परराष्ट्रमन्त्रालय धेरै धायौ,' उनले भने, 'त्यहाँबाट पहल गरिरहेका छौं भन्ने आश्वासन सँधै आउँथ्यो । अन्तत २०८१ जेठ १२ मा किमाथांका नाका खुल्यो, उनले भने, अनि ढुक्क भयौ, तर, बेलाबेलामा दैविप्रकोपका कारण नाका बन्द हुँदै खुल्दै गर्छ । '
किमाथांका नाकाबाट सबै उत्तरी क्षेत्रको नाका खुलेको घोषणा जेठ १२ मा भएको थियो । नाकाबन्द पछि भेटघाट गर्न नपाएका किमाथांका र तिब्ततमा भएका आफन्तबीच भने अझै भेटघाट हुन सकेको छैन । पहिलापहिला यता र उताका मानिस बीच बिहे हुन्थ्यो । अहिले रोकिएको छ । अध्यक्ष भोटेले भने, 'रात कटाएर आफन्तकोमा बस्न दिँदैन तर, सपिङमलमा सामान किनमेल गर्ने बहानामा भेटघाट गर्न पाईन्छ । नातेदार भेट्न पर्दा उताको सपिङ मलमा बोलाउनु पर्छ,' उनले भने।
किमाथांकाबाट गएका स्थानीय र व्यापारीलाई होटलमा बस्न पाउने अधिकार छैन,' उनले भने, 'होटलमा रात बस्न पाईंदैन । चाँगाबजार बिहान ९ बजे खुल्छ अनि बेलुकी ५ बजे बन्द हुन्छ त्यो नियम यता र उताका लागि बराबरी लागू हुन्छ ।
नाका खुलेपछि चौरीको पुच्छर र दैनिक उपभोग्य सामाग्री, लत्ताकपडा लगायतका समाग्री किमाथांका ल्याईने गरिएको छ । नाका खुलेपनि चरिचरन भने अझै बन्द छ । चौरी लगायतका घरपालुवा चौपाया पारिपट्टी चराउन पाईदैन । किमाथांकामा चरिचरनका लागि खर्क छैन ।
गत वर्ष डिसेम्बर १४ मा भएको अनौपचारिक भेटघाटमा भोटखोलाका तर्फबाट नाकामा सहज ओहरदोहोर गर्न पाउनुपर्ने माग राखेको अध्यक्ष भोटेले बताए । 'खासगरी हामीले यो नाकालाई राष्ट्रिय व्यापारिक मार्ग हुनुगर्छ भन्ने माग राखेका छौ', उनले भने, त्यसपछि चरिचरन गर्न पाउनुपर्छ भनेका छौं । भोटखोलामात्रै हैन संखुवासभा जिल्लामा उत्पादन भएको खाद्य, पशुजन्यवस्तु सहज ढंगले उता लैजान दिनु पर्छ भन्ने माग पनि राखेका छौं । नाकामा पारि जाँदा ३० किमी टाढा रहेको ठूलो बजार रियुसम्म किनमेलका लागि खुल्ला गरे हरेक सामाग्री सस्तो किन्न पाउने उनले बताए । सुरक्षाका लागि बोर्डरमा खटिएका सुरक्षाकर्मीबीच संयुक्त बैठक राखेर संयुक्त गस्ती गर्नु पर्छ भनेका छौं,' उनले भने, 'विकास निर्माणका लागि सहयोग आदानप्रदान स्थानीय स्तरमा हुनु पर्छ ।
उत्तरी क्षेत्रमा रहेका व्यापार नाका खुलेसँगै सीमा क्षेत्रमा राज्यको उपस्थिति हुने उनले बताए । स्थानीय उत्पादनको बिक्री तथा रोजगारी सिर्जना सहज हुनेछ । हिमाली क्षेत्रमा उत्पादन हुने परम्परागत हस्तकलाका सामग्रीले चिनियाँ बजारमा सहजै प्रवेश पाउनेछन् । 'सीमानाका सञ्चालनमा नआउँदा उत्तरी क्षेत्रका रोजगारी ठप्प भएका थिए, किमाथंकाबासी चाँगामा गएर दैनिक रोजगारी गर्थे र जीविका चलाउथे, उनले भने, 'फेरि अब चिनियाँ भूभागमा गएर रोजगारी गर्न पाउने अवसर मिलेको छ, त्यसका लागि हामीले निरन्तर पारिका प्रशासक बीच माग छलफल गरिरहेका छौं।
चीनसँग सीमा जोडिएको संखुवासभाको किमाथांकासहित १४ वटा व्यापार नाका जेठ १२ मा एकैपटक खुलेको घोषणा गर्न तत्कालीन परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ सहितको टोली किमाथांका हुँदै चीनको तिब्बत स्वायत्त क्षेत्र पुगेका थिए । त्यहाँका उपाध्यक्ष सिलाङ निमा र परराष्ट्रमन्त्री श्रेष्ठले एक समारोहकाबीच जेठ १२ मा १४ वटै व्यापार नाका पुनःसञ्चालन भएको घोषणा गरेका थिए ।
नाका खुलेको घोषणापछि काठमाडौं फर्किने क्रममा तुम्लिङटार विमानस्थलमा पूर्वमन्त्री श्रेष्ठले कोभिड महामारीका कारण देखाउँदै चीन सरकारले बन्द गरेका ती नाका नेपाल र चीनका उच्च राजनीतिक नेतृत्वबीचको वार्ता, संवाद र सहमतिबाट करिब चार वर्षपछि पुनः सञ्चालनमा ल्याएको बताएका थिए । त्यसबेला उनले सीमा क्षेत्रका जनताको अन्तर्क्रिया, व्यापार र साँस्कृतिक क्षेत्रमा योगदान पुग्ने विश्वास व्यक्त गरे । 'परम्परागत नाका पुनः सञ्चालनका लागि दुई मुलुकबीच लामो समयदेखि कूटनीतिक माध्यमबाट निरन्तर छलफल हुँदै आएको थियो', उनले भने, 'गत चैतमा गरेको चीनको औपचारिक भ्रमणका अवसरमा सीमा क्षेत्रमा रहेका सम्पूर्ण परम्परागत व्यापार नाका क्रमशः खुलाउने समझदारी भएको थियो ।'
किमाथांका सहित नेपाल–चीन सीमामा रहेका १४ वटै व्यापार नाका पुनः सञ्चालनको उद्घाटन समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री श्रेष्ठको नेतृत्वमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, गृह र परराष्ट्र मन्त्रालयका सहसचिव, भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटे, तत्कालिन प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्का र जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायत सहभागी थिए ।
संखुवासभाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काकाअनुसार डिसेम्बर १४ मा भएको अनौपचारिक बैठकमा तिब्बतका पार्टी सेक्रेटरी डेन्जी र डेपुटी सेक्रेटरी डिङ्ग्रीबीच बेग्लाबेग्लै छलफल भएको थियो । किमाथांकाबाट ३० किलोमिटर पूर्वमा रहेको कोन्देवामा भएको छलफलमा नाका नियमित सञ्चालन गर्न माग राखेको उनले बताए । उनीहरु नाका सञ्चालन गर्न तयार रहेको पाएका छौं', उनले भने, 'तर,उनीहरु अहिले नै सबै प्रकारका सेवासुविधा दिने पक्षमा छैनन् । चरिचरनलाई अहिले नखुलाउने उनीहरुको भनाई छ । हामीले पनि विकास निर्माणका लागि सहयोग उपलब्ध गराउँदा संघ सरकारबाट आउनुपर्ने बतायौं,'उनले भने,' किमाथांकाबासीलाई चाँगाबाट ३० किलोमिटर टाढा रहेको रियुबजारसम्म किनमेलका लागि जान दिनु पर्ने माग अघि सारेर आएका छौं ।'
किमाथांका नाकासम्म सदरमुकाम खाँदबारीबाट सडक यातायात जोडिएको छैन । खाँदबारी-किमाथांका सडक निर्माणाधीन छ । खाँदबारीबाट किमाथांकाको दूरी १ सय ६२ किलोमिटर उत्तर पर्छ । भोटखोलामा भोटे, शेर्पा, लामा, तामाङ र राई जातिको बसोबास छ । ६ हजार ५ सय ७६ जनसंख्या रहेको भोटखोलामा १ हजार ६ सय ४८ घरधुरी छन् । किमाथांका गाउँबाट तिब्बतको चाँगाबजार पु्ग्न करिब ३० मिनेट पैदल हिँड्नु पर्छ ।
