सिन्धुपाल्चोक - २०७२ सालको भूकम्प र त्यसका पराकम्पले भौतिक क्षति हुँदा लामो समयसम्म जिल्लाको सिंगो स्वास्थ्य सेवा प्रभावित भयो । जिल्लाका अधिकांश स्वास्थ्य संस्थाले झण्डै पाँच वर्ष टेण्ट, जीर्ण भवन र पालभित्र राखेर बिरामीको उपचार गरे । तर अहिले स्वास्थ्य संस्थाहरूका आकर्षक भवन निर्माण भएका छन् । त्यस्तै आकर्षक संरचनामध्येको एउटा हो- सदरमुकाम चौतारास्थित जनवादी गणतन्त्र चीनको सहयोगमा निर्मित ५० बेडको चौतारा प्रादेशिक अस्पताल । चौतारा साँगाचोकगढी नगर १४, इन्द्रावती, बलेफी र जुगल गाउँपालिकाका धेरैजसो वडाका स्थानीयका लागि यो अस्पतालले स्वास्थ्य सेवा प्रदान गर्छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्ण सापकोटा (देशबन्धु)काअनुसार नगरपालिका र गाउँपालिकाका स्थानीय दिनहुँ अस्पतालबारे चासो दिएर भेट्न आइरहन्छन् । तर, एक अर्ब १४ करोड लागतमा ‘चिनिँया मोडल’मा ठडिएको सुविधासम्पन्न अस्पतालको बिल तिर्न बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयले बजेट छुट्याउने गर्छ । बिजुली र अन्य गरी १२ लाख मन्त्रालयले बजेट विनियोजन गरेर राख्ने गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रमणि भण्डारीले जानकारी दिए । गत साउनमा सबै मेसिन सञ्चालनमा ल्याउँदा एक लाखसम्म बिजुलीको भाडा उठेको थियो । ‘त्यसबाहेक आहिले महिनापिच्छै ५० देखि ५५ हजार बिल उठ्छ, त्यसका लागि बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयले बजेट छुट्याएर खातामा हालिदिन्छ । त्यसले गर्दा खास समस्या भएको छैन । मुख्य कुरा स्वास्थ्य सेवा हो । हामीले त्यसमा ध्यान दिएका छौ,’भण्डारी भन्छन् ।
अस्पतालमा हाल १८ जना डाक्टर, २७ नर्स, रेडियोलोजी ल्याबसहित अन्य स्वास्थ्यकर्मी गरी १०३ कर्मचारी रहेको उनले जनाए । अस्पतालमा बहिरंग, जनरल सर्जरी, हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ, मानसिक स्वास्थ्य, नाक कान घाटी, डेन्टल, अन्तरंग, रेडियोलोजी एक्सरे, फिजियोथेरापी, आकस्मिकजस्ता सेवा छन् । मिर्गौलापीडितका लागि हेमोडायलासिस सेवा पनि । आँखा उपचार सेवा पनि थप्ने कार्ययोजना रहेको अस्पतालले जनाएको छ ।
'भौतिक संरचना हेर्दा राजधानीका भव्य प्राइभेट अस्पतालभन्दा कम छैन । पहिलेजस्तो सामान्य प्रसुति सेवाका लागि धुलिखेल जानुपर्ने बाध्यता आहिले छैन्, आहिले यहाँ सहजै यो सेवा हुन्छ' भण्डारीले भने ।
अस्पतालमा तीन देखि चार सय डायलासिस गर्ने बिरामी छन् । फिजियोथेरापीका लागि चौतारा साँगाचोकगढी नगरले पाँचौ तहसरहका एक स्वास्थ्यकर्मी उपलब्ध गराएको छ । 'पहिलेको तुलनामा सेवा बढेको छ, पहिलेकै कर्मचारी छन् ,तर पूर्वाधार भव्य भएका कारण मेसिन ठूलो छ, भवनको आकार हेर्दा कर्मचारी अपूग छ । पुरानै भवनका बराबरी कर्मचारी छन्',जिल्ला स्वास्थ्य कार्यालयकी प्रमुख दुर्गा बजगाईले भनिन् ।
अस्पताल बनाउन चीनबाटै सामाग्री
चीनको सहयोगमा निर्मित ५० बेडको प्रादेशिक अस्पतालको निर्माण गर्दा आवश्यक सम्पूर्ण सामान चीनबाट ल्याइएको हो । अस्पताल निर्माणमा २५ चिनियाँ र ४० नेपाली कामदार खटिएका थिए । सीमाक्षेत्र तातोपानीबाट चौतारा ७५ किलोमिटरको दूरीमा छ । त्यहाँबाट सामाग्री ढुवानी गर्दा झण्डै दोब्बर खर्च लाग्ने अनुमान सहजै गर्न सकिन्छ । 'नेपालको बालुवा, सिमेन्ट मात्रै ल्याइएको थियो । अरु सबै चीनबाट ल्याएर निर्माण गरिनु आफैंमा अनौठो हो,'स्थानीय अगुवा रविन्द्र श्रेष्ठले भने । उनकानुसार स्थानीय बजारमा सहज उपलब्ध रड, पिनजस्ता सामाग्रीसमेत तातोपानी हुँदै ल्याइनुमा चिनियाँ कम्पनीको आफ्नै सामाग्री बिकाउने रणनीति लुकेको छ ।
भूकम्पमा ढलेको चौतारा अस्पताल पुनर्निर्माण गर्न १५ अगस्ट ,२०१८ मा चीनको अर्थ मन्त्रालयअन्तर्गत एजेन्सी फर इन्टरनेसनल इकोनोमिक कोअपरेसन र नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच काठमाण्डौमा सम्झौता भएको थियो । त्यही सम्झौतामा आधारमा ६ करोड १० लाख चिनियाँ आरएमबी सहयोग प्राप्त भएको कोअपरेसनले जनाएको छ । ९ सेप्टेम्बर, २०२२ मा सुरु भएको ‘चाइना एड सिन्धुपाल्चोक हस्पिटल रिकभरी प्रोजेक्ट इन नेपाल’ करिब १८ महिना अर्थात् ३ मार्च, २०२४ मा निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । चाइना क्वियुएन इन्जिनियरिङ कर्पोरेसन र सियान सिफाङ कन्स्ट्रक्सन सुपरभिजन कम्पनी लिमिटेडको मुख्य व्यवस्थापनमा चिनियाँ ठेकेदार कम्पनी हेवेई कन्स्ट्रक्सन ग्रुपले अस्पताल भवन निर्माण गरेको हो ।
के-के छन् अस्पतालमा ?
तीन हजार सात सय ९० वर्गमिटर क्षेत्रफलमा मेडिकल कम्प्लेक्स बिल्डिङ (३ स्टोरिज), वाटर पम्प रुम, टेम्पोररी मेडिकल वेस्टेज रुम, जेनेरेटर सेड निर्माणसँगै मेडिकल उपकरण ,फर्निचर र अस्पतालका लागि आवश्यक सर्जिकल सामाग्री चीन सरकारले उपलब्ध गराएको छ । भुइँतलामा फार्मेसी, दर्ता शाखा, परामर्श कक्ष, फिजियोथेरापी पुनर्वास कक्ष, पोषण भान्सा, ड्युटी रुम, बहिरंग बिरामी कक्ष, बालबालिका कक्ष, प्रयोगशाला, आकस्मिक कक्ष, नर्सिङ स्टेसन, ड्रेसिङ रुम, एक्सरे कक्ष छन् । भुइँतलामै भ्याक्सिनेसन सेन्टर, पुलिस अफिस फायर कन्ट्रोल सेन्टर, क्षयरोग र एड्स उपचार कक्ष छन् ।
भुइँतलामै चारसय ५० केभी पावर जेनेरेटर र मेडिकल वेस्ट वाटर प्रोसेसिङ उपकरण जडान गरिएका छन् । पहिलो तलामा नर्सिङ स्टेसन, २९ बेडको अन्तरंग विभाग, सो क्लासरुम, सात बेडको प्रसूति विभाग, दुई अपरेटिङ कक्ष, रिकभरी कक्ष, नवजात शिशु स्याहार मेसिन, फोटो थेरापी उपकरण, बालबालिका उपचार कक्ष, पुरुष र महिलाका लागि छुट्टाछुट्टै ड्रेसिङ कक्ष, मेडिकल स्टाफ आराम कक्ष छन् । दोस्रो तलामा प्रशासनिक कार्यालय, तालिम हल, गतिविधि कक्ष, अप्रेसन विभाग, पुस्तकालय, सम्मेलन रुम, अस्पताल निर्देशक कक्ष र मेडिकल डकुमेन्ट कक्ष छन् । तेस्रो तलामा पानी प्रशोधन कक्ष जहाँ कार्बन र बालुवा फिल्टर मेसिन छन् । अपरेसन कक्षका लागि स्वच्छ हावा तयार पार्ने मेसिन र दुईवटा ठूला लुगा धुने मेसिन राखिएका छन् । सबै तलामा अत्याधुनिक अपरेटिङ सिस्टम जडान गरिएको छ । फर्निचर,मेसिन,दराज सबै चीनबाट ल्याइएको हो । मेसिन र अपरेटिङ सिस्टम चिनियाँले नै सिकाएका थिए ।
स्वास्थ्य संस्था निर्माणको चटारो
जिल्लाभर दुई अस्पताल, ३ प्राथामिक स्वास्थ्य केन्द्र, ७५ स्वास्थ्य चौकी, ४५ बर्थिङ सेन्टर र ९ सामुदायिक स्वाथ्य एकाई छन् । सहरी स्वास्थ्य क्लिनिक ४ वटा खोलिएका छन् । भूकम्पको सात वर्षपछि जिल्लाभर रहेका एक जिल्ला अस्पताल , ७५ स्वास्थ्य चौकी, ४ सहरी स्वास्थ्य क्लिनिक र नौ स्वास्थ्य एकाई लगभग निर्माण भइसकेका छन् । केही निर्माणाधीन अवस्थामा देखिन्छन् ।
आहिले जिल्ला आयोजना कार्यान्वयन एकाई (अनुदान तथा पूर्वाधार) को जिम्मा सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापले जिम्मा लिएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना मन्थली रामेछापका इन्जिनियर कृष्ण ज्ञवलीकाअनुसार स्वास्थ्य र शिक्षाक्षेत्रमा सिन्धुका अधिकांश संरचना निर्माणले गति लिएको देखिन्छ । भूकम्पको पाँच वर्षपछि भौतिक रुपमा केही तंग्रिएर अगाडि बढेको स्वास्थ्य क्षेत्रलाई दक्ष तालिमप्राप्त स्वास्थ्यकर्मीको कमी मुख्य कारण बनेको उनले उदाहरण दिए । नगरदेखि गाउँपालिकास्तरमा सञ्चालित बर्थिङ सेन्टर, आवश्यक औषधी समयमा नपुग्नुजस्ता कुराले चुनौती उत्तिकै थपेको छ । जिल्लाको सदरमुकामस्थित ३७ बेडको चौतारा अस्पताल र इन्द्रावती गाउँपालिका वडा ४ स्थित नवलपुरमा १५ बेडको अस्पताल बनेको छ । भूकम्पले जिल्लाभर रहेका ७३ स्वास्थ्य चौकी र नौ सामुदायिक इकाइ भवन ध्वस्त बनाएको थियो । भूकम्पको तीन वर्षपछि स्थानीय तहबाट सहजीकरण भएपछि विभिन्न संघसंस्था र सरकारी निकायबाट जिल्लाभरका स्वास्थ्य चौकी, अस्पताल पुनर्निर्माणले तिव्रता पायो । तर, प्राकृतिक विपद्कै कारण देखाएर ७३ स्वास्थ्य चौकीमध्ये अधिकांश प्रिफ्याबमा सञ्चालनमा ल्याइएको छ । स्थायी भवन बनाइएको छैन । कर्मचारी समायोजन, सेवा थपेर दुर्गममा जान प्रोत्साहित गर्नेजस्ता अन्य रणनीति नअपनाइएका कारणले कोभिडजस्ता आपतकालमा जनशक्ति एकदमै खराब संख्यामा देखिएको स्वास्थ्यकर्मीले बताएका छन् ।
