सीमा पासका लागि जग्गा खरिद: हुम्लामा बाहिरियाको बढ्दो उपस्थिति

भदौ २०८२

हुम्ला – बझाङ जिल्लाको सैपाल गाउँपालिका–४ की अस्मिता लामा हालै नाम्खा गाउँपालिका –१ मा बसाइँ सरेकी छिन् । नाम्खा गाउँपालिका १ को हेप्का गाउँमा रहेको १०४ नम्बर कित्ता २७१ वर्गकिमी क्षेत्रफलको जग्गा खरिद गरेकी छिन् ।

उनले जग्गा खरिद गर्नुको मुख्य कारण हुम्ला जिल्लामा बसोबास नभई चीनको ताक्लाकोट रोजगारीका लागि अस्थायी सीमा पासको लागि हो ।

सैपाल गाउँपालिका–३ की कुसुम थापाले पनि नाम्खा गाउँपालिका–१ हेप्का गाउँको १३६ नम्बर कित्तामा रहेको ५९ वर्गकिमी क्षेत्रफल भएको जग्गा खरिद गरेकी छिन् । उनको पनि उद्देश्य जिल्ला प्रशासन कार्यालय हुम्लाबाट अस्थायी सीमापास लिएर चीनको ताक्लाकोटमा रोजगारी जाने हो । 

यी दुई प्रतिनिधि पात्र मात्रै हुन् । ओखलढुंगा लिखु–२ की विन्दा थापाले नाम्खा गाउँपालिका–१ को हेप्का गाउँबाट २८६ नम्बर कित्ता ३४० वर्गकिमी क्षेत्रफलको जग्गा खरिद गरेर सीमा पासका लागि योग्य भएकी छिन् ।

सोलुखुम्बु  दुधकण्ड–७ की तेन्जिङ डोल्कर शेर्पाले नाम्खा गाउँपालिका–१ को हेप्का गाउँको २५४ कित्ता नम्बर ३२५ वर्गकिमी क्षेत्रफलको जग्गा खरिद गरेर जिल्ला प्रशासन कार्यालय हुम्लाबाट सीमापास बनाएर चीनको ताक्लाकोट पुगेकी छिन् । 

सरकारले चीनसँग सीमा जोडिएका जिल्लाका स्थानीयलाई राहदानी बेगर नै सीमापार ओहोरदोहोर गर्न पाँच वर्षे प्रवेश पास सहितको प्रावधान ल्याएको छ । त्यही प्रवाधानका कारण हुम्ला बाहिरका नेपाली नागरिक यो जिल्लामा बसोबासका लागि बसाइँ सर्ने गरेका छन् ।

चीनसँग सीमा जोडिएका नेपालका १५ जिल्ल्लाका स्थानीयलाई चिनियाँ बजारसम्म आउजाउ गर्न जिल्ला प्रशासन कार्यालयबाट सीमापास पाउने, चीन आवागमन अनुमतिपत्र उपलब्ध गराउने कार्यविधि २०८१ जारी छ । कार्यविधि अनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, गोरखा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, हुम्ला, बझाङ, दार्चुला– चीनको सीमानासँग सीमा जोडिएका जिल्लामा अनुमतिपत्र पाइन्छ । चीनसँग नेपालको सीमा क्षेत्रको लम्बाई करिब १ हजार ४१४ किलोमिटर छ । 

नेपाल–चीन द्विपक्षीय सहमति र सम्झौता अनुसार दुवै देशका सीमावर्ती जिल्लाका नागरिकले ३० किलोमिटरसम्म बिना राहदानी जिल्ला प्रशासनको पत्रका आधारमा आउजाउ गर्न पाउने व्यवस्था छ ।  कार्यविधिमा यो प्रावधान सम्बन्धी ३० किलोमिटरको विषय उल्लेख छैन ।

कार्यविधिअनुसार सम्बन्धित जिल्लाको नागरिकता प्राप्त व्यक्ति, निजका नाबालक सन्तान, सम्बन्धित जिल्लाका नागरिकसँग विवाह सम्बन्ध भई स्थायी बसोबास गरेका र अन्य जिल्लाबाट बसाइँसराइ गरी सम्बन्धित जिल्लामा आएका व्यक्तिले चीन आउजाउ गर्न यो सुविधा पाउँछन् ।

सीमा क्षेत्रमा मानिसको निगरानी, नियमन र सीमापार अपराध रोकथाम तथा नियन्त्रणमा प्रशासन र सुरक्षा संयन्त्रको उपस्थिति भने कमजोर छ । 

हुम्लाको सदरमुकाम सिमकोटबाट हिल्सा नाकासम्म पुग्न ९५ किलोमिटर कच्ची सडक पार गर्नुपर्छ । यो नाका हुम्लाको व्यापारिक केन्द्र पनि हो । बर्षेनी हुम्लाबाट नेपाली नागरिकहरु चीनको ताक्लाकोट मजदुरीदेखि व्यापार व्यवसाय गर्न जाने गरेका छन् । ताक्लाकोट बजार नै हुम्लाबासीहरुको मुख्य व्यापार व्यवसाय गर्ने मात्र नभई दैनिक मजदुरी गर्ने स्थान पनि हो ।

पछिल्ला केही वर्ष यता यो नाकाबाट बाहिरी जिल्लाका नागरिकहरु पनि चीनको ताक्लाकोट पुग्ने गरेका छन । 

बझाङ र दार्चुला जिल्लामा चीनसँग जोडिएको नाका चीनले कडाई गरेपछि हुम्ला जिल्लाको हिल्सा नाकाबाट चीन प्रवेश गर्नको संख्या बढेको छ । 

निर्णय परिवर्तन 

०८१ साल मंसिर १ गते प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको अध्यक्षतामा  जनप्रतिनिधि, राजनैतिक दल र पत्रकारहरुको उपस्थितिमा नयाँ निर्णय गरेको छ । बाहिर जिल्लाका नागरिकहरुको हकमा बसाइँसराई गरेको ३ वर्षसम्म जिल्ला प्रशासन कार्यालयबाट सीमापास जारी नगर्ने निर्णयलाई उल्टाएर सीमापास तत्काल दिने निर्णय गरेको छ ।

निर्णयमा जग्गाधनी प्रमाण, नागरिकताको प्रमाणपत्र र मतदाता नामावली कागजात लिएर आएको एकै दिनमा सीमापास दिने गरिएको छ । 

पुरानो निर्णय उल्टाएर प्रमुख जिल्ला अधिकारी नारायण पाण्डयेले सीमा पास दिने निर्णय भएसँगै जिल्लाबाहिरबाट धमाधम आउने गरेका छन् । 

९ हजारले लिए सीमापास 

स्थानीय प्रशासनको रेकर्डमा हालसम्म ९ हजार नेपालीहरुले जिल्ला प्रशासन कार्यालय हुम्लाबाट सीमापास लिएका छन् ।

छिमेकी चीनसम्मको सीमा जोडिएका बासिन्दाका लागि ३० किलोमिटर परसम्म जाने अनुमति भएपछि जिल्ला प्रशासन कार्यालयबाट कोरोना माहामारी पछि ९ हजार नेपालीले चीनको ताक्लाकोट लागि सीमापास लिएका हुन् । 

गत वैशाख महिनादेखि हालसम्म जिल्ला प्रशासन कार्यालय हुम्लाले ६७ सय जनालाई हिल्सा नाका हुँदै चीनको ताक्लाकोट पुग्ने सीमा पास दिएको छ ।

हुम्लाको हिल्सा नाकाबाट २ महिनाको अवधिमा झण्डै ३ देखि ४ सय नेपाली चीनको ताक्लाकोट प्रवेश गरेका छन् । हिल्सा प्रहरीचौकीको तथ्याङ्क अनुसार ३ देखि ४ हजार नेपाली रोजगारीको लागि ताक्लाकोट गएका छन् ।  

रोजगारको नाममा बसाइँसराई

हिमालबाट सहर बसाइँसराई गर्ने प्रक्रिया चलिरहेका बेलामा हुम्लामा भने सहरबाट हिमालतिर बसाइँ सराई गर्ने संख्या बढेको छ ।  ताक्लाकोट रोजगारी गर्न जाने बाहानामा बसाइँ सराई गर्ने संख्या हवात्तै बढेको हो । 

बझाङ, डोटी, दार्चुला, प्युठान ,ओखलढुंगा, सिन्धुपाल्चोक, खोटाङ, सोलुखम्बु लगायतका स्थानबाट नाम्खा गाउँपालिका–१ हेप्का खगालगाउँ, मुचु सिमकोट गाउँपालिका ठेहे, दोजाम स्याडा लगायतमा जग्गा खरिद गरेका छन् ।

जग्गाधनी पुर्जा हुनेहरुले जिल्ला प्रशासन कार्यालयबाट सीमापास लिएका छन् । केही महिलाहरुले स्थानीयसँग विहेबारी गरी त्यहीँको नागरिक भएका छन् । मालपोत कार्यालय हुम्लाको तथ्यांकमा २५ जना जिल्ला बाहिरबाट आएर गाउँघरको जग्गा खरिद गरेको देखिन्छ। 

नाम्खा गाउँपालिका १ हेप्का गाउँको १३७ कित्ता नम्बर १०५५ वर्गकिमी क्षेत्रफल भएको जग्गा जिल्ला बाहिरका दुई महिलाको नाममा खरिद छ । सोही गाउँकै २१९ कित्ता नम्बर ५६५ वर्गकिमीको जग्गा तीन जना किशोरीको नाममा संयुक्त खरिद भएको छ । 

यस्तै गरि नाम्खा गाउँपालिका ४ मुचु गाउँको २०५ कित्ता नम्बर २३० वर्गकिमी क्षेत्रफलको जग्गा जिल्ला बाहिरबाट आएकाकै नाममा खरिद भएको छ । हेप्का गाउँकै १७४ कित्ता नम्बर ५५० वर्गकिमी क्षेत्रफलको जग्गा जिल्ला बाहिरबाट आएको नाममा खरिद छ । 

मतदाता नामावली पनि हुम्लाबाटै

स्थानीय प्रशासनले सिमापासको विषयमा जग्गाधनी प्रमाण पत्र, नेपाली नागरिकता र मतदाता नामावली परिचय पत्र माग गरेपछि हुम्ला जिल्लाबाटै मतदाता नामावालीमा नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयमा २५ जना जिल्लाबाहिरले हालै मतदाता नामावली नाम दर्ता गराएको तथ्याङ्क छ ।
 

author

Narjan Tamang

CESIF Fellow