भोटेकोसीको बाढी : भत्किएको जनजीवन र पुनःस्थापनाका चुनौती

गएको भदौ १० गते बिहान भोटेकोसी सुसाउँदै धुवाँ र धुलोको मुस्लोसहित मडारिएर आउन थालेपछि स्याफ्रुबेँसीका बासिन्दाको होसहवास उडयो ।  केही बेरमै स्याफ्रुबेँसीको पुरानो बजार, नयाँ बजार र खम्बाटारको चौर पनि हेर्दाहेर्दै बगाएर लग्यो । 

नदीले वितण्डा मच्चाएपछि आफू भगवान् सम्झेर बसेका स्याफ्रुबेँसीको माथिल्लो सडकमा बस्ने नुर्पुछिरिङ तामाङलाई त्यो कहालिलाग्दो विगतले अहिले पनि झस्काइरहन्छ । उनले त्यो कहालीलाग्दो क्षण सुनाए, “बाढी विस्तारै घटेपछि बजार बगाएको देखियो । छिमेकी र साथीहरूको सम्झना आयो, मनै भक्कानियो ।”

नदीको उर्लंदो भेलले एकैछिनमा वर्षौ लगाएर बनाएको बजार, व्यापार, बसोबास र सामाजिक सम्बन्धका आधारहरू उजाड बनाएको दृश्य उनका लागि अझै बिर्सन नसकिने स्मृति बनेको छ । कुनै समय धान रोपिने खेत रहेको स्याफ्रुबेँसी मोटरबाटो पुगेपछि घडेरीका रूपमा किनबेच हुन थालेको थियो ।

सुरुमा स्याउलाले छाएका साना पसल खुले । सडक पुगेको केही वर्षसम्म स्थानीयले त्यसलाई ‘स्याउले बजार’ भनेर चिन्थे । पछि ठूला होटल तथा व्यवसाय खुलेसँगै यो ठाउँ काठमाण्डौलाई चीनसँग जोड्ने हिमाली जिल्ला रसुवाको प्रमुख व्यापारिक केन्द्र बन्यो । 

लाङटाङ र तामाङ सम्पदा पदमार्गतर्फ जाने पर्यटकको प्रवेशद्वारका रूपमा समेत स्याफ्रुबेँसीको पहिचान स्थापित भइरहेको थियो । तर २०८३ भदौ १० गतेको विनाशकारी बाढीले यही परिचित भूगोललाई क्षतविक्षत बनाइदियो ।

रसुवा भोटेकोसीको बाढीलाई स्थानीयले पहिलोपटक देखेको घटना मानेका छैनन् । उनीहरूका सम्झनामा विसं २०११, २०१७, २०१९, २०२६ र २०४२ मा पनि बाढी आएका थिए ।

बाढी पछिकाे स्याफ्रुबेसी । तस्बिर: ज्ञानेन्द्र न्यौपाने

पुराना घटनाका व्यवस्थित लिखित अभिलेख सहजै उपलब्ध नभएकाले यी मितिलाई स्थानीय मौखिक इतिहासका रूपमा लिनुपर्ने बुद्विजिवीको भनाई छ ।

२०१९ सालको बाढीले नुवाकोटको त्रिशूली बजारतर्फ ढुङ्गे त्रिशूली वारपार गर्ने झोलुङ्गे पुल बगाएको स्थानीय ज्येष्ठ नागरिक रामहरी रिजाल बताउनु हुन्छ । नदी शान्त देखिए पनि त्यसको स्वभाव सधैँ एउटै नहुने उनीहरूको अनुभव छ ।

पुस्तौँदेखि सुनाइँदै आएको नदीको चेतावनीलाई विकास निर्माण र बस्ती विस्तारका क्रममा कति गम्भीरतापूर्वक लिइयो भन्ने विषय अब विपद् जोखिम अध्ययनको महत्वपूर्ण पक्ष बन्नुपर्ने पनि  बुद्विजिवी बताउछन् ।

यसपटकको बाढीले भने पुराना स्मृतिभन्दा निकै ठूलो मानवीय र भौतिक क्षति पु–याएको छ । रसुवागढी, टिमुरे, घट्टेखोला, वृद्विमको मेदाङफुलुङ र रोङ्गा, स्याफ्रुबेँसी, छोकल, गोम्चेत, मैलुङ, फल्लेटार, सिम्लेपुछार, पहिरेबेँसी, नौबिसे, कैदलटार र बेत्रावतीलगायतका क्षेत्र नराम्ररी प्रभावित भएका छन् ।

नदी किनारका बस्ती, सडक, पुल र सार्वजनिक संरचनामा भएको क्षतिले जिल्लाको दैनिक जीवन र आवागमनमा गहिरो असर पारेको छ ।

स्थानीय प्रशासनले संकलन गरेको विवरणअनुसार बाढीमा बेपत्ता हुनेहरुमा १६ देखि ४२ वर्ष उमेर समूहका नागरिक धेरै छन् । जिल्ला प्रशासन कार्यालय रसुवाले परिवारको आर्थिक आधार मानिने युवा सदस्य बाढीमा सम्पर्कविहीन भएकाले गाउँमा काम गर्ने मानिसको अभाव छ । कमाएर ल्याउने परिवारका सदस्य नभएकाले परिवारमा आम्दानी छैन । बाढीमा बाँचेकाहरुको भविष्य पनि अनिश्चित भएको छ ।

बाढीमा बेपत्ता भएकाहरूको खोजी, पहिचान र परिवारलाई आधिकारिक जानकारी उपलब्ध गराउनु राज्यको प्राथमिक दायित्व बनेको छ । बेपत्ता नागरिकका परिवारमा शोक र प्रतीक्षा एकसाथ छ । कतिपय परिवारले धार्मिक तथा साँस्कृतिक परम्पराअनुसार काजक्रिया गरिरहेका छन् । आफन्तको सास र लास नपाउँदा बाढीमा बाँचेकाहरु पनि मानसिक र सामाजिक पीडामा छन् ।

यस्ता परिवारलाई काजक्रिया खर्च, खाद्यान्न, आश्रय र मनोसामाजिक परामर्श उपलब्ध गराउन स्थानीय तह तथा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

सुरक्षा निकायका कर्मचारी तथा अन्य सरकारी सेवामा संलग्न व्यक्तिसमेत बाढीबाट प्रभावित भएको स्थानीय विवरणमा उल्लेख छ ।

रसुवाकाे स्याफ्रुबेसी भाेटेकासीमा फड्के निर्माण भए पछि पैदलमार्गीलाई आवत जावतमा सहज भएको छ । तस्बिर: ज्ञानेन्द्र न्यौपाने

तर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र निजामती सेवाका कति कर्मचारीको मृत्यु भयो, कति बेपत्ता भए र कति घाइते भए भन्ने निकायगत तथ्याङ्क उपलब्ध सार्वजनिक अभिलेखबाट पुष्टि गर्न सकिएको छैन । रसुवा जिल्लाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार नेपाली सेना २७, नेपाल प्रहरी २८, शसस्त्र प्रहरीबल १३ निजामति कर्मचारी ७२, बैङ्क वित्तिय संस्थाका २२ कर्मचारी बाढी संगै बेपत्ता भएको बताउँछन् । बाढीमा विद्यालय र स्वास्थ्य संस्थामा पुगेको क्षतिले बालबालिकाको पढाइ तथा बिरामीको उपचारमा समेत असर पारेको छ ।

बाढीले प्रभावित पारेका विद्यालय, स्वास्थ्य केन्द्र र अन्य सार्वजनिक भवनको संख्या, क्षतिको अवस्था तथा अस्थायी रूपमा सेवा सञ्चालन भइरहेका स्थानबारे पालिकागत विवरण सङ्कलन गरी सार्वजनिक गर्न जिल्ला समन्वय अधिकारी राजेन्द्र प्रसाद आचार्यको संयोजकत्वमा एक समिति गठन गरेर क्षतिको विवरण संकलन भइरहेकोे जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

पुनर्निर्माण गर्दा भवन बनाउने काममा मात्र सीमित नभई सुरक्षित स्थान, पहुँचमार्ग र भविष्यको जोखिमलाई दिर्घकालिन असरलाई ध्यानमा राखेर पुर्नस्थापना गराउनु पर्ने बाढीपीडित गणेश श्रेष्ठले बताए । बाढी पछि निर्माणका सामग्री व्यवस्थापनका साथै सडकको मर्मत र सुधार सडक सुधार आयोजनामार्फत भएको हो भने सेनाले पुल जडानको काम मात्र गरिरहेको सडक सुधार आयोजनका आयोजना प्रमुख कृष्णनाथ ओझाले बताए । उनले पुर्ननिर्माणमा सडक सुधार आयोजनाको भूमिकालाई समेट्न आग्रह गरे ।

यसले विपद्पछिको पुनःस्थापनामा सरकारी निकायबीचको समन्वय र सहकार्यको अभाव देखाउँछ ।

सडक र पुल बनेपछि आवागमनमा सहज

बेत्रावतीमा पुल बनेपछि रसुवाको जनजीवन क्रमशः सहज हुँदै गएको छ । दक्षिणी रसुवासँग सडक सम्पर्क सहज हुनु मात्रै उत्तरी रसुवाको पुनःस्थापनाका लागि पर्याप्त छैन । स्याफ्रुबेँसीस्थित भोटेकोसीमा पनि पुल बगाएकाले आवागमन र पर्यटकीय गतिविधि प्रभावित भएका छन् ।

सहज बन्दै यातायातः रसुवाको बेत्रावतीस्थित फलाखुखोलामा बेलिब्रिज निर्माण गरेपछि काठमाडौंदेखि रसुवाको सदरमुकाम धुन्चे सम्म सिधा यातायात सञ्चालनमा आएको छ । तस्बिर: ज्ञानेन्द्र न्यौपाने

सडक सुधार आयोजनाका प्रमुख ओझाले तिहारसम्म स्याफ्रुबेँसी क्षेत्रमा बेलीब्रिज निर्माण गरिसक्ने जानकारी दिएका छन् । यो लक्ष्य पूरा भएमा स्थानीय बासिन्दा, व्यवसायी र पर्यटकलाई आवागमनमा सहजता आउने अपेक्षा गरिएको छ । 

स्याफ्रुबेँसीको पुरानो बस्ती र लाङटाङ पदयात्रामा जाने मार्गलाई जोड्न साविकको स्थानमा समेत पुल निर्माण गर्न स्थानीयले माग गरेका छन् । एउटा स्थानमा मात्र पुल बनाउँदा पुरानो बस्ती तथा पदमार्गका सबै क्षेत्रको समस्या समाधान नहुने उनीहरूको भनाइ छ ।

जोखिमको अध्ययन गरी आवश्यक स्थानमा पुल, सडक र सुरक्षित पैदलमार्ग निर्माण गर्ने दायित्व अन्तरगत सरकारको तर्फबाट तयार गरिएको कोरको तुईन प्रभावकारी नभएपछि स्थानीय बासिन्दाले संघ संस्थाको सहयोगमा सामान जुटाई श्रमदानबाट फड्के पुल निर्माण गरेका छन् । जुन कामगर्दा पनि सरकारी अनुदान खोज्ने स्थानीय बासिन्दाहरू जनताको समस्या छिटो परिपुर्ति गर्न बाढीपछि  जनश्रमदानमा जुट्न थालेका छन् । 

जनश्रमदानले तयार भएको फड्के पुलले दैनिक सरदर १०० जना भन्दाबढी जनाताको आउजाउमा सहज भएको स्थानीय बासिन्दाले बताए । बाढीले सडक र पुल बगाएपछि रसुवाको गतलाङ क्षेत्रका किसानले कृर्षि उत्पादन बजारसम्म पु–याउन सकेका छैनन् ।

गतलाङका अगुवा किसान मार लामाका अनुसार सडक अवरुद्ध हुँदा बारीमा तयार भएको कृषि उपज बिक्री गर्न नपाएर बिग्रन थालेको छ । उत्पादन भएको तरकारी बजारमा पु–याउन नसक्दा किसानले लगानी र श्रम दुवै गुमाउने अवस्था आएको छ ।

ग्रे गाउँका किसानको उत्पादन मात्र विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा एमआई हेलिकोप्टरबाट ढुवानी हुँदै आएको छ । तर गतलाङका किसानले त्यस्तो सुविधा नपाएको भन्दै स्थानीयले गुनासो गरेका छन । संकटका बेला खाद्य सुरक्षा र जीविकोपार्जनमा सहयोग गर्ने संस्थाले राहत तथा ढुवानीको पहुँचमा समानता कायम गर्नुपर्ने उनीहरूको माग छ । 

दुर्गम बस्तीका किसानको उत्पादन बजारसम्म पु–याउन हेलिकप्टर, वैकल्पिक सडक वा अन्य व्यावहारिक माध्यमको सम्भाव्यता अध्ययन गर्न आवश्यक रहेको गतलाङका किसानको माग छ ।

कृषि उपज नबिक्नु किसानको व्यक्तिगत समस्या मात्र होइन । यसले गाउँको खाद्य आपूर्ति, नगद आम्दानी र आगामी खेतीका लागि आवश्यक बीउ, मल तथा श्रम जुटाउने क्षमतामा समेत असर पार्छ । त्यसैले राहत वितरणसँगै कृषि उत्पादनको बजार व्यवस्थापनलाई पुनःस्थापनाको योजनामा समावेश गर्नुपर्ने किसान मार लामाको माग छ ।

भोटेकोसी बाढीले पुल बगाएपछि हेलिकोप्टरमा बिरामी ओेर्सानु पर्ने बाध्यतालाई भने स्याफ्रुबेँसीको भोटेकोसीमा निर्माण गरिएको फड्केपुलले बोकेर ल्याउन भने सहज बनाएका कारण अकालमै मृत्यु वरणमा पुग्ने खड्को भने टरेको छ ।

author

Gyanendra Neupane

CESIF Fellow