माघ २०८२ - गत भदौ पहिलो साता जयपृथ्वी नगरपालिका वडा नं. १ पिमिका भक्त सिंह सहित उनका चार जना आफन्त पाँच दिन हिडेर नेपाल चीन सीमा क्षेत्र उरै भञ्ज्याङ पुगे । उरै पुगेको राती दुई बजे नै हिडेको उनको टोली बिहान ६ बजे चीनको तिब्बतमा रहेको कठान पुगे । कठान त्यही क्षेत्र हो जहाँ मानसरोवर नजिकबाट उत्पति भएको कर्णाली नदी (तिब्बती भाषामा माब्जा त्साङपो) बग्छ ।
उनीहरु त्यहाँ कुल देवता मष्टोका दिवङ्गत धामीको केश विर्सजन गर्न गएका थिए । बझाङमा धामीको मृत्यु भए पछि केश (लडा) शव सँग जलाउन मिल्दैन । धामीले सास छोड्नु अघि नै लडा काटेर सुरक्षित रुपमा राखिन्छ । अर्काे व्यक्तिले धामीको अवतार ग्रहण गरेपछि पछि धामी काँपेर त्यो लडा कहाँ विर्सजन गर्ने ठाउँ तोक्छ । यसरी तोकिएर लडा विर्सजन गर्नेे ठाउँ तीर्थस्थल हुन्छन् । प्रायजसो मृत धामीका केश तिब्बतस्थित मानसरोवरमा लगेर विर्सजन गरिन्छ ।
भक्तको खलकले धामीको केश विर्सजन गर्न नपाएको आठ बर्ष भैसकेको थियो । कोभिड महामारीको कारण देखाउदै चीनले सन् २०१९ बाट उरै नाका बन्द गरे पछि त्यो भन्दा दुई वर्ष अघि मृत्यु भएका धामीको केश विर्सजन गर्न उनको परिवारले पाएको थिएन । २०८१ साल साउनमा मानसरोवरमा केश विर्सजन गर्न गएका उनको परिवारलाई चिनियाँ सुरक्षाकर्मीले तोकिएको ठाउँमा नपुग्दै फर्काइ दिएका थिए । सात दिन हिडेर ताक्लाकोट नजिक पुगेका उनीहरुलाई मानसरोवर जान दिइएन । बरु उनीहरुलाई दुर्व्यवहार गरियो । मोबाइलमा भएका फोटा डिलिट गरिदिए ।
अघिल्लो वर्ष चिनियाँ सुरक्षाकर्मीको दुर्व्यवहार खेपेका उनीहरुले यो वर्ष नयाँ जुक्ति निकालेका थिए । धामीलाई हेराउँदा उरैबाट केही पर पर्ने कठानमा बग्ने कर्णालीमा केश विर्सजन गर्दा हुने बताए पछि उनीहरु रातारात त्यहाँ पुगेका थिए । “हतार हतारमा हामीले त्यहाँ लडा सेलायौ ।” भक्तले भने । मान्छेको चहलपहल नहुँदै त्यहाँबाट फर्किहाल्यौ अघिल्लो वर्ष जस्तै सुरक्षाकर्मीले देख्छन् कि भन्ने डरले काम सकिए पछि छिटो छिटो नेपालको सीमामा प्रवेश गरेको भक्तले बताए ।
“खासमा सेलाउनु पर्ने त मानसरोवरमै हो । उता जान नदिने रहेछन्,” उनले भने, ‘मानसरोवर जान नपाए पछि नयाँ धामीको सल्लाहमै कर्णालीमा सेलायौैं, मरेको मान्छेको केश बर्षौ सम्म राख्दा असहज महसुस भए पनि मानसरोवर जान नपाएका कारण सेलाउन नपाएको उनले सुनाए ।
भक्तको परिवारले जस्तै अहिले बझाङका हरेक गाउँका मानिसहरुले सीमा नाकामा विभिन्न खालका असहजताहरु भोगिरहेका छन । सयौ वर्ष देखि निर्वाध रुपमा आवतजावत गरिरहेको मानसरोवरमा चीन सरकारले प्रवेशमा रोक लगाएको छ। यसले बझाङका स्थानियको धार्मिक र साँस्कृतिक अभ्यास नै संकटमा छ । मृत्यु भएका धामीको केश विर्सजन, पितृ तर्पण मात्रै होइन जिल्लाका प्राय: सबै गाउँको कुल पुजा समेत बर्षाै देखि रोकिएको छ ।
मानसरोवरको जल चढाए पछि मात्रै बझाङका अधिकांश मन्दिरको पूजा सुरु हुने पहिले देखिकै चलन हो । यतिमात्रै होईन, मानसरोवरको जलको अभावमा मन्दिरहरुमा नयाँ धामी राख्ने काम पनि रोकिएको छ । यहाँको संस्कृति अनुसार नयाँ धामी काँपेपछि मानसरोवर कैलाश पुगेर त्यहाँको जल मन्दिरमा ल्याएर चढाएपछि मात्रै पाट बस्ने (आधिकारीक रुपमा धामीको मान्यता पाउने) चलन छ । कतिपय मन्दिरमा भने मानसरोवरको जल चढाए पछि मात्र बार्षिक पूजा सुरु हुन्छ । जल ल्याउन नपाउँदा बार्षिक पूजा समेत प्रभावित बनेको छ ।
मष्टो संस्कृति अन्तर्गत देवताहरूको पुजा गर्दा बर्षमा एक पटक मानसरोवरको जल ल्याएर चढाउनु अनिवार्य साँस्कृतिक कर्म हो । धेरैजसो देवी देवताहरूको धामीमा देवता अवतार भएपछि तिनीहरू मानसरोवरमा नुहाएर कैलाशको दर्शन गरेपछि मात्र वास्तविक धामी भएको मान्ने गरिन्छ । धामीको मान्यता पाए पछि पनि दुई तीन वर्षमा मानसरोवरमा स्नान गराएर कैलाशको परिक्रमा गराउनु पर्ने अनिर्वाय नियम रहेको छ । बझाङबाट पैदलै हिडेर मानसरोवरको जल लिन जाने गरिन्छ । बझाङबाट देवीदेवताप्रति आस्थावान स्थानियसंगै धामी र पूजारीहरू देवताले तोकेको भनिएको बाटो हिडेरै जाने र बास बस्ने समेत निश्चि ठाउँ तोकिएको हुन्छ ।
बझाङको उरै हुँदै ताक्लाकोटबाट पैदलै गएर पहिले लागा देवता (मष्टो संस्कृतीसंग जोडिएका एक देवता ) हिडेको बाटो अनुशरण गर्दै गौरी ओडारमा बास बस्नुपर्छ । त्यहाँबाट मानसरोवर स्नान गरी जल ल्याएर पुनः गौरी ओडारमा बास बसी पूजा गरेर मात्रै फर्किनु पर्ने नियम छ । मष्टो संस्कृति र परम्परा पुस्तकका लेखक समेत रहेका श्याम खडकाले भने, ‘कोही त्यहीँ बाट हिडेर बझाङ फर्किन्छन् । कोही जलको भाँडो त्यही नजिक गौरी खोलाको किनारमा गाडेर कैलाश पर्वत परिक्रमा गर्न जान्छन र फर्किदा पहिला गाडेको जल ल्याएर आउने गर्छन ।’
कोरोना महामारी अघि बझाङ जिल्ला प्रशासन कार्यालयले दिएको अस्थायी प्रवेश अनुमतिका आधारमा बझाङका स्थानियलाई उरै नाकाबाट सहजै तिब्बत प्रवेशको अनुमती मिल्थ्यो ।तर चीन सरकारले कोरोना पछि व्यापारिक प्रयोजनका लागि नाका खोले पनि मानसरोवर प्रवेश दिएको छैन ।

बझाङबाट तिब्बतको ताक्लाकोट लैजानका लागि प्रतिबन्धीत जडिबुटीका बोरा बोकेर गएका भरीयाहरु तिब्बतको बैस नजिक एक ओडारमा विश्राम गर्दै । तस्बिर: वसन्तप्रताप सिंह
बझाङका विभिन्न मठ मन्दिरका धामीहरु, स्थानिय बासिन्दाहरु, स्थानीय सरकार, प्रदेश तथा संघिय जनप्रतिनिधीहरुले मानसरोवर तीर्थ यात्रा खुलाउनका लागि नेपालका प्रधानमन्त्री देखि चीनका राजदूतसम्म ज्ञापनपत्र बुझाइसकेका छन तर यसको सुनवाई भएको छैन ।
‘जल ल्याउन गएका लाई अपराधी जस्तै व्यवहार गर्छन तर यताबाट जडिबुटी लिएर गएकाहरुलाई भने सोझै छिर्न दिन्छन २०८१ साल साउनमा मानसरोवर जान हिडेका तर चिनीयाँ सुरक्षाकर्मीले विचबाटो बाटै फर्काएका जयपृथ्वी नगरपालिकाका चन्द्र सिंहले भने, ‘व्यापारी र तीर्थ यात्रीलाई गर्ने उनीहरुको व्यवहार नै फरक छ,” सिंहले भने, “जस्तै चिनियाँ नाकामा वैध व्यापार गर्नेहरुलाई मात्रै अवैध व्यापार गर्नेहरुलाई पनि कुनै रोकटोक छैन ।
सिंहले भने जस्तै क्षेत्रफलका हिसावले नेपालकै ठुलो र सुविधा हिसावले सम्भवत सबैभन्दा विकट बझाङको साइपाल गाउँपालिकामा पर्ने सीमाक्षेत्र उरै भञ्ज्याङ नाकामा भन्सार कार्यालय र सुरक्षा पोष्ट समेत छैन । यही कमजोरीको फाइदा उठाउदै बर्षेनी ठुलो परिमाणमा जडिबुटी यो बाटो भएर अबैध निकासी हुने गरेको छ । यही नाका भएर अबैध रुपमा तिब्बत तर्फ तस्करी हुने बन्यजन्तुका अखेटो पहारका कारण बझाङमा चोरी शिकार बढदै गएको छ । जसले गर्दा नेपाल सरकारले दुर्लभ र लोपोन्मुख सूचीमा समावेश गरेका वन्यजन्तुको अस्तित्व खतरामा छ ।
पछिल्ला वर्षहरुमा तातोपानी लगायत पुर्वी नाकामा कडाई हुन थाले पछि भारतबाट ल्याएर चीन तस्करी हुने रक्तचन्दन तस्करहरुले पनि यही नाकामा सुरक्षा पोष्ट नभएको फाईदा उठाउदै रक्त चन्दन तिब्बत पठाउने गरेको प्रत्यक्षदर्शीहरु बताउछन् ।
तत्कालिन प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण अघि बझाङका स्थानियलाई मानसरोवर सम्मको तिर्थ यात्रामा भएको अवरोध हटाउनका लागि कुटनितिक पहल गरिदिन ज्ञापन पत्र बुझाउन गएका बझाङका जनप्रतिनिधी र सामाजिक अगुवाहरु । तस्बिर: वसन्तप्रताप सिंह
२०५९ साल सम्म नेपाल प्रहरीको अस्थायी सुरक्षा क्याम्प सीमा भन्दा २ किलोमिटर वर कांलगा भन्ने ठाउँमा बस्ने गरेको थियो । संकटकालमा यो क्याप हटाइयो । अहिले नेपालको सीमा सुरक्षा चौकी सीमा भन्दा करिब ३० किमी टाढा साइपाल गाउँपालिकाको धुली गाउँमा छ । साइपाल गाउँपालिका अध्यक्ष मानविर बोहरा भन्छन, ‘सीमा क्षेत्रमा तस्करहरुको राज्य छ ।”
सुरक्षाकर्मीको उपस्थिति नहुँदा सीमा वरीपरी तस्करहरुले खुलेआम कारोबार गरिरहेका हुन्छन । त्यहाँ रोकटोक गर्ने कोही हुँदैन । बोहराले भने, ‘चीन तर्फको सुरक्षा पोष्ट कठानमा मात्रै छ । तीर्थजानेहरु त्यही बाटो भएर जाने भएकाले चिनियाँ सुरक्षाकर्मीले फर्काउँछन । तस्करका हजार बाटा छन उनले तस्करी गर्नेहरु तिब्बती भुमीमा रहेका वैकल्पिक बाटोको प्रयोग गरेर ताक्लाकोट नजिक सामान पुर्याउने गरेको बताए ।
नेपाल चिनको सीमा स्तम्भ रहेको उरै भञ्जाङ नजिक ठाडोढुङा भन्ने भण्डारण गरेर राखिएको जडिबुटी, बन्यजन्तुको अखेटोपहार र रक्त चन्दन लगायतका प्रतिबन्धित सामाग्रीहरु चैत देखी देखि कार्तिकसम्म तिब्बतको सीमावर्ती बजार ताक्लाकोट ओर्साने काम हुने गरेको तत्कालीन साइपाल गाउँपालिका पूर्व अध्यक्ष राजेन्द्र धामी बताउँछन् । जडिबुटीमा बढी जसो रातो च्याउ, पाँचऔले, कटुकी, सतुवा, जटामसी, वनलसुन यो बाटो भएर तिब्बत जाने गरेको उनले बताए । ‘सीमामा सुरक्षा पोष्ट र भन्सार कार्यालय हुनुपर्छ भनेर हामीले प्रदेश देखि केन्द्रसम्म ज्ञापन पत्र बुझायौं । तर सरकारले सुनेन धामीले भने, ‘राज्यको उपस्थिति नभए पछि मनपरी त हुने नै भयो ।”
मानसरोवर हिडेका बझाङका स्थानियहरुलाई गत साउनमा चिनियाँ सुरक्षा कर्मीले बिच बाटो बाटै फर्काइदिएका थिए । तस्बिर: वसन्तप्रताप सिंह
२०६८ साल चैत्रमा बझाङ प्रहरीले चिनको तिब्बत तर्फ लैजादै गरेको अवस्थामा रिठापाटाको बारिलबाट करिब ३५ क्वीन्टल रक्त चन्दन सहित ८६ जना भरिया पक्राउ गरेको थियो । सबै भरिया बाजुराका थिए । त्यही वर्ष असोजमा अछाम र बझाङका केही गरी १ सय ५० भन्दा बढी भरिया लगायर करिव ५० क्विन्टल रक्त चन्दन तिब्बत पुराइएको कुरा सार्वजनिक भएको थियो । बझाङका भरियाहरुबाट खुलासा भएको उक्त रक्तचन्दन तस्करी काण्डमा बझाङको प्रहरी प्रशासनको पनि मिलेमतो रहेको आशंकाहरु गरिएको थियो ।
त्यसयता यस नाका भएर तिब्बत पुग्ने रक्त चन्दन पक्राउ परेको छैन । तर प्रत्येक वर्ष रक्त चन्दन यस नाका भएर तिब्बत आउने गरेको यहाँका स्थानिय र यो बाटोमा होटल व्यवसाय गर्नेहरु बताउछन ।सिन्धुपाल्चोकको तातोपानी नाका बन्द र रसुवा लगायतका अन्य नाकामा हुने कडाइका कारण तस्करहरुले नाका फेरेर बझाङको नाकालाई प्रयोग गर्न थालेका हुन्।
बझाङको यो नाकामा भन्सार कार्यालय खोलिनु पर्ने र सीमा सुरक्षाका लागि विशेष खालको सुविधा सहित ससस्त्र प्रहरीलाई खटाइनु पर्ने भनेर साइपाल गाउँपालिका मात्र नभएर जिल्लामै पटक पटक आवाज उठ्ने गरेको छ । चुनाव ताका उम्मेदवारहरुको एजेन्डा बन्ने गरेको यो नाकामा भन्सार कार्यालय र सुरक्षा व्यवस्था गर्नका लागि तत्कालिन बझाङ जिल्ला परिषदले पटक पटक निर्णय गरेर केन्द्रमा पठाएको थियो । तर यसको सुनुवाई नहुँदा उरै नाका तस्करका लागि सहज बन्दै गएको बझाङका अधिकारीहरु बताउँछन् ।
नेपाल चीन सिमा नजिक ठाडोढुगां भन्ने ठाउँमा अस्थायी टहरा निर्माण गरेर ताक्लाकोटमा तस्करीका लागि भण्डारण गरिएको अबैध जडिबुटी । तस्बिर: वसन्तप्रताप सिंह
