निगरानीका नाममा नेपालीलाई हिल्सा नाकामा चीनको सास्ती

Narjan Tamang

Dec 11, 2025

हुम्लाको हिल्सा नाका वर्षौंदेखि स्थानीयको रोजगारी, व्यापार र दैनिक जीवनको मुख्य आधार बनेको छ। सिमकोटदेखि ९५ किलोमिटर दुर्गम सडक पार गरी चीनको ताक्लाकोट पुग्नुपर्ने हुम्लाबासीहरू खाद्यान्न, लत्ताकपडा र आवश्यक सामग्रीका लागि यही नाकामा निर्भर छन्। तर पछिल्ला वर्षहरूमा चीनले एकतर्फी रूपमा कडाइ बढाएपछि स्थानीयले अस्वभाविक सास्ती भोग्नुपरेको छ।

पहिले सहज रहेको आवाजाही अब अस्थायी सीमा पास, कडा निगरानी, बारम्बारको नाका बन्द र एकपक्षीय नियमले जटिल बनेको छ। तीन महिनासम्म मात्रै पुग्ने स्थानीय उत्पादनका कारण हुम्लाबासी ताक्लाकोट जान बाध्य हुन्छन्, तर चिनियाँ सुरक्षाकर्मीको निगरानी, सामान ओसारपसारमा लाग्ने अत्यधिक खर्च, र दुई बोरा भन्दा बढी मैदा नल्याउन सकिने प्रतिबन्धले दैनिकी झन् कष्टकर बनाएको छ।

सीमा क्षेत्रमा जग्गा किन्ने, मतदाता नामावली दर्ता गर्ने र बसाइँसराई बढ्दै गएपछि चीनले निगरानी झन् कडा पारेको स्थानीयको अनुभव छ। यसैबीच कामदारहरूलाई “चिसो” को नाममा फर्काइने, फोटोसहित रोक लगाइने, र दैनिक १५–२० जनासम्म डिपोर्ट गरिने घटना बढेका छन्।

ताक्लाकोटमा दुई सयभन्दा बढी नेपालीले होटल तथा व्यावसायिक गतिविधि चलाए पनि, चीनको मनस्थितिअनुसार चल्ने नाका प्रणालीले सीमा क्षेत्रमा बस्नेहरूलाई असुरक्षा, असुविधा र अनिश्चितता बढाइदिएको छ।